आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार ओमानसँग खेल्दैछ।
नेपाल र ओमान दुवै टिम सेमिफाइनल पुगिसकेकाले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलपछि समूह 'ए' को विजेताको टुंगो लाग्नेछ। खेल विहान ९ बजे सुरू हुनेछ।
समूह विजेता बनेमा समूह 'बी' को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल जित्ने टिम विश्वकपमा छनोट हुनेछन्।
नेपाल समूह विजेता बनेर अर्को समूहको उपविजेतासँग सेमिफाइनलमा भिड्ने योजनामा छ। अर्को समूहमा युएई विजेता हुने सम्भावना छ। यस्तै बहराइन, हङकङ र कुवेतमध्ये एक टिम उपविजेता हुने सम्भावना देखिन्छ।
नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले पछिल्ला तीन खेलमा जित निकालेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो। २०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो।
त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी-२० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
नेपाल र ओमानबीच पहिलो टी-२० भने २०१९ को अक्टोबरमा भएको थियो। ओमानमा भएको टी-२० सिरिजको सो खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो।