आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ।
मंगलबार कोलकतामा जित हात पारेसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवित राखेको छ।
पाकिस्तान ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
मंगलबार बंगलादेशले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह शफिकीले ६८ रन र फखर जमानले ८१ रन जोडे। कप्तान बाबर अजाम ९ रनमा आउट हुँदा मोहमद रिजवानले नटआउट २६ रन र इफ्तिखर अहमेदले नटआउट १७ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २०४ रनमै अलआउट भयो।
बंगलादेशका लागि मोहमुदुल्लाहले ५६ रन, नाजमुल हुसेनले ४५ रन र कप्तान सबिक अल हसनले ४३ रन जोडेका थिए।
बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदी र मोहमद वासीमले ३-३ विकेट लिए।
यता हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना भने सकिएको छ। बंगलादेशले ७ खेलमा एक जित मात्र निकाल्न सकेको छ।