दिवाकर घले नेपाली क्रिकेटमा लागेको तीन दशक भइसक्यो। नेपालको पुरानो क्लब मध्येको एक महावीर क्लबका अध्यक्ष भएपछि उनको नेतृत्वमा आयोजना भएको महावीर कप क्रिकेट प्रतियोगिताको अहिले पनि चर्चा हुने गर्छ।
२०५० को दशकमा घलेले आफ्नो नेतृत्वमा महावीर कप आयोजना गरेका थिए। टुँडिखेलको खुला चौरमा महावीर कप क्रिकेट प्रतियोगिता सुरू गरेर घलेले नीजि क्लबहरूलाई क्रिकेटमा अगाडि बढ्न सकिने सन्देश दिएका थिए।
लगातार आधा दशकसम्म टुँडिखेलको खुल्ला चौरमा हजारौं दर्शकमाझ महावीर कपको त्यतिबेला निकै लोकप्रियता पाएको थियो।
अनि क्रिकेटको माहोल बढ्दै राजधानीमा नयाँ क्रिकेट क्लब र खेलाडी जन्मन थालेका थिए। नेपालमा व्यवसायीक क्रिकेटको सुरूवात पनि त्यहीँ थियो भन्ने गरिन्छ। किनभने त्यतिबेला नेपाली क्लबहरूले कलकत्ता, बनारस र लखनउबाट रणजी ट्रफी खेलेका खेलाडी टिममा भित्र्याएर महावीर कप उपाधि जित्ने प्रयास गरेका थिए।
महावीर कप युथ क्रिकेट क्लब, विराटनगरले लगातार दुई वर्षसम्म उपाधि जितेको थियो। महावीर क्लबले तेस्रो पल्टको प्रयासमा उपाधि जितेको थियो। प्रतियोगितामा मोफसलको रुपन्देहीको तिरूपती खुकुरी क्लब पनि भाग लिने गरेको थियो। भारतबाट विवेकानन्द क्रिकेट एकेडेमी, ग्वालियर र इस्ट वेस्ट क्लब दिल्लीले पनि भाग लिएका थिए।
त्यतिबेला टुडिँखेलमा टेन्ट हालेर रातभर मैदान र सामाग्री रुग्न महावीरका स्वयंसेवकहरू त्यहिँ सुत्ने गर्दथे। पालैपालो टुँडिखेलमा रात बिताउनेमा घले पनि स्वयं हुन्थे। क्रिकेटका लागि घर छाडेर टुँडिखेलको बास रुचाउने दिवाकर घले साच्चैँ खेलप्रेमी थिए र क्रिकेटका लागिअन्धभक्त। घलेका भाइ राजन क्रिकेट खेल्थे महावीर क्लबबाट, घले भने महावीर कै ‘बी’ टिमबाट। उनी बढी व्यवस्थापकीय जिम्मेवारी नै सर्वोपरी ठान्थे र त्यसैमा लागि रहे।
सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू-१९ कप सफल पार्न पनि घलेको महत्वपूर्ण भूमीका थियो। एसियाका १५ देशले भाग लिएको प्रतियोगितामा घलेले राजधानीका चार मैदानको स्तरोन्नती गर्दै प्रतियोगिता सफल पारेका थिए। तत्कालिन अध्यक्ष जयकुमारनाथ शाहले काठमाडौंमा क्रिकेट खेल्ने मैदान टुँडिखेल नै भएकाले जसरी पनि टुँडिखेलमा प्रतियोगिता गर्नु पर्ने बताएका थिए। त्यहीँअनुसार घलेले घोडेजात्रा हुने स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य पिच र आउटफिल्ड तयार पारेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदान, टुँडिखेल मैदान, पुल्चोक इन्जिनियरिङ मैदान र भक्तपुरको वीरेन्द्र सैनीक महाविद्यालयको मैदानलाई स्तरीय बनाउँदै खेल सञ्चालन भएका थिए। घले प्रतियोगिताका दौरान टुँडिखेल मैदानको भेन्यू म्यानेजर बनेका थिए।
सन् २०१० मा नेपालमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ मा उनी नेपाली क्रिकेट टिमको व्यवस्थापक थिए। सो प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो। नेपाली टिमले पहिलो पटक आधिकारिक प्रतियोगिताको उपाधि उचाल्दा घले पनि व्यवास्थपाकीय भूमिकामा सफल भए।
सन् २०१० पछि भने नेपाली क्रिकेटमा राजनीति बढी भयो। राष्ट्रिय खेलकुद परिषदले विनयराज पाण्डेको अध्यक्षता रहेको क्यानलाई विघटन गर्दै टंक आङबुहाङलाई अध्यक्ष बनायो। आङबुहाङ क्यान नेतृत्वमा आएपछि नेपाली क्रिकेट विवादरहित हुन सकेन।
२०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा क्यानका तत्कालिन अध्यक्ष आङबुहाङसहित कार्यसमितिका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले क्यानका अध्यक्षसहित उपाध्यक्षहरू विनोदकुमार मैनाली, सुनिलमान अमात्य, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव ठाकुरप्रसाद पहाडी, सदस्य पूर्ण लामा, आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द, सदस्यहरू अशोकनाथ प्याकुरेल, किरणशमशेर राणा, ठाकुरप्रताप थापा, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायको संलग्नता रहेको आरोपपत्र दायर गरेको थियो।
यद्यपी विशेष अदालतले २०७२ कात्तिकमा दाबी पुग्न नसक्ने भन्दै १८ जनालाई नै सफाइ दिएको थियो।
क्यान विवादको ऋंखला यतिमै टुंगिएन। अदालतबाट सफाइ पाएपछि क्यानमाथि राष्ट्रिय खेलकुद परिषदको नजर राम्रो भइसकेको थिएन। क्यानले नयाँ नेतृत्वका लागि निर्वाचन गराउन खोज्दा राष्ट्रिय खेलकुद परिषदले स्वीकृत दिँदै निर्वाचन समितिका लागि पत्राचार गर्न आनाकानी गरेको थियो।
निर्वाचन मिति तोकिएर सबै प्रक्रिया अघि बढेको अवस्थामा समेत खेलकुद परिषद बाधक बनेपछि विधानअनुसार बाधा अड्काउ फुकाउ प्रयोग गरेर क्यानको निर्वाचन भएको थियो।
२०७२ मंसिरको अन्त्यमा भएको क्यानको निर्वाचनमा चतुरबहादुर चन्द अध्यक्ष चुनिएका थिए। घले उपाध्यक्षमा निर्वाचित भएका थिए। अन्य सबै पदमा सर्वसम्मत भए पनि उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। निर्वाचनमा घले र शैलेश चौधरी विजयी भएका थिए।
तर क्यानले गरेको उक्त निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएन। परिषदले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि क्यान विवादले उग्र रुप लिएको थियो। निर्वाचित क्यानले खेलकुद परिषदको कमदविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि सर्वोच्चले स्टेड अर्डर दिएन।
२०७२ मंसिरमा निम्तिएको विवाद २०७३ को वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सम्म पुग्यो। आइसिसीले सरकारी हस्तक्षेप भएको भन्दै नेपाल क्रिकेट संघलाई निलम्बन गरिदियो।
क्यान निलम्बनपछि पनि घलेले निर्वाचित क्यानको गतिविधि बढाउन लागि सक्रिय भएर काम गरेका थिए। उनले कागजी प्रक्रियाका लागि अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई सम्पूर्ण सहयोग गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट क्यान निलम्बनको अवस्थामा नेपाली क्रिकेटको विवाद अन्त्यका लागि घलेको सक्रिय भूमीका थियो। २०७३ सालमा घलेकै अगुवाइमा काठमाडौंमा निर्वाचित क्यानको साधारणसभा भएको थियो।
क्यान विवादका लागि आइसिसीले सुरुमा सल्लाहकार समूह बनाएको थियो। तर उक्त समूहमा सुरुमा निर्वाचित क्यानलाई राखिएन। निर्वाचित क्यानका पदाधिकारी विरोधपछि अध्यक्ष चन्द र सचिव प्याकुरेललाई समेटिएको थियो।
सल्लाहकार समूहको मुख्य काम विधान बनाउनु थियो। तर निर्वाचित क्यान बाहेकका ब्यक्तिहरु जिल्लालाई अधिकार दिन चाहादैन थिए। क्यानको विधानलाई आफू अनुकुल बनाउने उनीहरुको प्रयासविरुद्ध निर्वाचित क्यानका पदाधिकारीले खुलेर विरोध गरेका थिए। जसका कारण सल्लाहकार समूहले तयार गरेको विधान सात पटकसम्म फेर्न परेको थियो।
क्यानको विवादका लागि गठन भएको सल्लाहकार समूहले बनाएको विधान संसोधन व्यवस्थापन गर्न पनि घलेको भूमीका थियो। एक वर्षपछि क्यानको विशेष साधारणसभाले हुबाहु पास गरेपछि क्यानको विवाद समाधान उन्मुख भएको थियो।
यो बीचमा क्यानका आबद्ध जिल्ला क्रिकेट संघहरूको निर्वाचन भएको थियो। जिल्लाहरुलाई सक्रिय बनाएर निर्वाचन गराउन घले लगायतका पदाधिकारीले उल्लेखनीय भूमीका खेलेका थिए। निर्वाचित क्यानको गतिविधि बढाए मात्र क्यानको अस्तित्व हुने आफ्नो सोचाइ रहेको घले बताउँछन्।
पछि सल्लाहकार समूहले विधान निर्माण गरेपछि इन्डिपेन्डेन्ट प्यानललाई जिम्मेवारी दियो। प्यानललाई निर्वाचन गराउने जिम्मेवारी थियो। जसअनुसार निर्वाचन भइसकेका जिल्लाको विषयमा प्यानलले जाँचबुझ गरेको थियो।
तत्कालिन ३९ जिल्ला मध्ये २० वटा जिल्लाको निर्वाचन सहि तरिकाले भएको देखिएको थियो। १९ जिल्लाको निर्वाचनमा प्रक्रिया नमिलेको प्यानलको ठहर थियो। जसमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला र डोटीको सदस्यता कायम हुन नसक्ने निश्कर्ष निकालेको थियो। जसका कारण यी ६ जिल्लाको अस्तिस्व समेत संकटमा परेको थियो। यो अवस्थमा घलेले प्यानलमा ती जिल्लालाई निर्वाचनमा जसरी पनि भाग लिन दिनु पर्ने भन्दै दबाब दिएका थिए। क्यानमा आबद्ध जिल्लालाई प्यानलले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क थियो। त्यसपछि यी जिल्लाको पनि निर्वाचन गराइएको थियो।
जिल्ला, प्रदेश, केन्द्रीय निर्वाचन सम्पन्न क्यानको विवाद अन्त्यसँगै आइसिसीबाट समेत शर्तसहित निलम्बन फुकुवा भएको थियो।
जसका कारण २०७१ देखि क्यानलाई काम गर्न दिने प्रयास विफल भएको थियो। समानान्तर समिति बनाएर क्यानविरूद्ध गरिएको अवैधानीक कारबाहीदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मुद्दामा सफाइ पाउनमा घले लगायतका व्यक्तिको महत्वपूर्ण भूमीका थियो।
घले २०५८ देखि २०७२ सम्म क्यानको सदस्य बनेका घले त्यसपछि चार वर्ष उपाध्यक्षको भूमीमा सक्रिय रहे। तर २०७६ मा उनको सदस्यता नवीकरण हुन सकेन। घलेलाई क्यानको राजनीतिक दाउपेचमा पारियो।
आइसिसीको निर्णयअनुसार क्यानले २०७१/०७२ को पेश्की फर्छ्यौट गर्न सूचना निकालेको थियो। त्यहीँअनुसार घलेले पेश्की पछ्यौट पनि गरिसकेका थिए। तर, निर्वाचनका लागि बनाइएको स्वतन्त्र समितिले ७०/७१ पेश्कीलाई देखाएर सदस्यता खारेज गरेको थियो। घलेसहित २ सय जनाको सदस्यता खारेज भएपछि त्यतिबेला नै नियतवस खारेज भएको भन्दै विरोध भएको थियो।
नेपाली क्रिकेटका लागेको तीन दशक पूरा हुन लाग्दा घले आगामी असोज पहिलो साता हुने नेपाल क्रिकेट संघको निर्वाचनको एक प्रमुख पात्र हुन्।
यसपटक पनि काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा फर्किएका घलले काठमाडौं जिल्लाबाट पूर्वकप्तान पारसलाई क्यान व्यवस्थानमा भित्र्याए। छलफलमा पारसलाई काठमाडौंको कार्यसमिति सदस्य बनाइयो। काठमाडौंले पारसको इच्छाअनुसार बागमती प्रदेशीक क्रिकेट संघको अध्यक्षमा प्रस्ताव गरेको थियो भने काठमाडौंबाट प्रदेश प्रतिनिधि बनाएर पठाएको थियो। काठमाडौंको प्रस्तावलाई बागमतीका थप तीन जिल्लाले समर्थन गरेपछि पारस बागमती प्रादेशीक क्रिकेट संघको अध्यक्ष बन्न सफल भएका थिए।
पछिल्लो केही वर्ष क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग नीतिगत कुरामा घलेको विमति थियो। उनले विधानअनुसार चल्नु पर्ने भन्दै आवाज उठाएका थिए।
असोज पहिलो साता हुने निर्वाचनमा भने घलेले अध्यक्ष चन्दसँग केही नरम देखिएका छन्। ‘विगतमा हामीले विधानका कुरा उठाएका थियौं। हामीले संस्था नियमअनुसार चल्नु पर्छ भन्ने हाम्रो माग थियो,’ घले भन्छन्, ‘हामीले उठाएका कतिपय कुरामा अध्यक्षज्यूले स्विकार गर्नु भएको छ। एक दशकभन्दा बढी समय हामीले सहकार्य गरेका छौं। क्रिकेट विकासका लागि सहकार्य गर्न हामी फेरि तयार छौं।’
निलम्बनपछि क्रिकेट संघबाट बाहिरिएका घले यसपटकको कार्यसमितिमा फर्कने विश्वास गरिएको छ। यसमा चन्दले आफू पक्षका सदस्यहरुलाई सहमति गराउने प्रयास गर्नु पर्नेछ।
‘साथीहरूको चाहाना फेरि क्रिकेट संघको कार्यसमितिमा आउनु पर्छ भन्ने छ। मेरो योगदान र मूल्यांकन गरेर पदाधिकारीमा सहमति गर्नु हुन्छ फेरि पनि नेपाली क्रिकेटका लागि योगदान दिन तयार छु,’ उनले पदाधिकारीको उम्मेदवारको रुपमा प्रस्तुत गरे।
अध्यक्षमा चन्द दोहोरिने चर्चा चलिरहदा घलेले अघिल्लो कार्यसमितिको केन्द्रीय समिति रहदा विधानअनुसार चल्नु पर्छ भन्दै आवाज उठाएका संजयराज सिंह, करण महत्रा क्षेत्री, अमीतवीर पाण्डे, दाउद अन्सारी र ऋषिराम गौतमलाई पनि समेटेर अघि बढ्नु पर्ने धारणा राखे। साथै क्यानमा भूमिका खोजिरहेका पूर्वकप्तान पारसलाई पनि समेट्नु पर्ने उनले बताए।
‘नेपाल क्रिकेट संघले पटकपटक विधान विपरितका काम गर्दा संघ विवादित बन्यो। यस्तो अवस्थामा साथीहरुले अल्पमतमा रहदा-रहदै पनि विधान पालना र विधानको सर्वोच्चताका लगि कुनै सम्झौता नगरी क्यानभित्र संघर्ष गर्नुभयो। आज त्यहिँ जगमा नै क्यान पुन: सम्हलिएर अघि बढ्ने भएको छ। त्यसैले यी साथीहरु कुनै हालतमा छुट्दैनन् र छुट्न हुन्न,’ उनले भने।
क्यान निलम्बनको बेलामा समेत आफूले जिल्लाको पक्षमा काम गरेको बताउँदै जिल्लाका प्रतिनिधिहरूले आफूलाई सहयोग गर्ने उनले विश्वास राखेका छन्।
‘मैले सधैँ जिल्लाको पक्षमा आवाज उठाए। निलम्बनको बेला जिल्लालाई मताधिकार नदिने षडयन्त्रविरुद्ध बोले। हामीले जिल्लालाई मताधिकार दिनु पर्छ भन्ने अडान राखेपछि अहिलेको स्थिति आएको हो,’ उनले भने।
नेपालले एकदिवसीय मान्यता जोगाएको अवस्थामा अब पक्ष-विपक्षभन्दा पनि मिलेर अघि बढ्नु पर्ने उनको भनाइ छ। ‘हामीले एकदिवसीय मन्यता जोगाएको अवस्थामा अब मिलेर अघि बढ्नु पर्छ। पूर्वाधार विकासका लागि सरकारको लगानीका लागि पहल गर्नु पर्छ। अब सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने।