आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरुद्धको एकदिवसीय सिरिजका नेपाली टिम घोषणा गरिएको छ।
आगामी शनिबार युएई जाने नेपाली टिममा सन्दीप लामिछाने समावेश छैनन्। नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पटानले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ।
टिममा प्रतिश जिसी र मौसम ढकालले पहिलो पटक स्थान बनाएका छन्। यसअघि सन्दीपले गत मंगलबार घरेलु मैदानमा सम्पन्न स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिज भने खेलेका थिए।
नेपाली टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भेटका लागि बोलाएको कार्यक्रममा नेपाली टिमबारे जनकारी दिइएको हो। कार्यक्रममा युएई जाने टिममा सन्दीप समावेश नभएको जानकारी गराइएको क्यानका कार्यवहाक सचिव दुर्गाराज पठाकले बताए।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल
युएईमा हुने नेपाल, पिएजी र युएईबीचको सिरिज आगामी फागुन १५ मा सुरु भएर २२ मा सकिनेछ। त्यसपछि फागुन अन्तिम साता नेपाल, पिएनजी र युएईबीच नै नेपालमा लिग-२ को अन्तिम सिरिज हुनेछ।
लिग-२ मा स्कटल्यान्ड च्याम्पियन बनिसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।
लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।
लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।
नेपालले बाँकी रहेका आठै खेल जिते विश्वकप छनोटमा स्थान बनाउनेछ भने पाँच खेल जिते एकदिवसीय मान्यता जोगिनेछ।
आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।
सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।