नेपाल टी-२० लिगको टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको बताएका छन्।
मंगलबार विराटनगर सुपरकिंग्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञानेन्द्रले आफ्नो टिमका एक खेलाडीलाई प्रस्ताव आएको खुलासा गरेका हुन्।
‘हाम्रो टिमका एक साथीलाई पनि एप्रोच गरिएको थियो। उनले तत्काल हामीलाई जानकारी गराएपछि हामीले एन्टी करप्सन युनिटलाई खबर गर्यौं,’ कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी लिगमा फिक्सिङ भएको विषयमा गरिएको प्रश्नमा ज्ञानेन्द्रले भने।
उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने खुलाएनन्।
फिक्सिङसहित अरु खराब क्रियाकलापको निगरानीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ।
तर उनी आइसिसीको एन्टी करप्सन युनिटबाट रिटायर्ड भइसकेको पाइए पनि क्यानले आइसिसीसँगकै समन्वयमा उनलाई लिखित रुपमा नियुक्त गरेको बताएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगका खेलमा फिक्सिङसहितका अन्य गतिविधि भएमा एन्टी करप्सन युनिटमा खबर गर्न सकिने बताउँदै आएका छन्।
फिक्सिङको बारेमा पटकपटक कुरा उठ्दा अध्यक्ष चन्दले एन्टी करप्सन युनिटमा जानकारी गर्न सकिने र दोषी पाए कारबाही गरिने बताएका छन्।
क्यानको एन्टी करप्सन युनिटीमा खबर आएपछि युनिटले क्यानलाई जानकारी दिनुपर्छ। त्यसपछि क्यानले आइसिसीलाई खबर गर्नुपर्छ।
यसअघि लिगको कमेन्टेटर सचिन तिमल्सेनाले पनि जारी लिगमा फिक्सिङ भएको बताउँदै आफू लिगबाट अलग भएको बताएका थिए। उनले विराटनगर टिमका कतिपय खेलाडीले स्पट फिक्सिङ गरेको दाबी गरेका थिए।
क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरु असन्तुष्ट छन्।
टिमले पारिश्रमिक दिन ढिलाइ गरेपछि काठमाडौं र विराटनगरबीचको खेल मंगलबार ढिलो गरी सुरु भएको थियो भने खेल ९ ओभरमा झारिएर गरिएको थियो।
‘हामीले यसअघि पनि पारिश्रमिक पाउनु पर्ने माग गरेका थियौं। तर टिम व्यवस्थापन र आयोजक सम्पर्कमा नभएपछि हामीले आज क्यानसँग माग राखेका हौं,’ खेलपछि ज्ञानेन्द्रले भने,’क्यानले भोलिसम्म दिलाउने आश्वासन दिनु भएको छ।’
विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए। साथै उनले भोलिसम्म पाउने प्रतिबद्धता प्राप्त भएको पनि बताए।