अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सिड्नी क्रिकेट मैदानमा सुरू हुनेछ।
भाग्यको साथ पाएको पाकिस्तान १३ वर्षपछि पुनः टी-२० विश्वकपको फाइनल नजिक छ।
जारी विश्वकपको सबैभन्दा भाग्यमानी टोली पाकिस्तान सुरूआती दुई खेलमा पराजित भएपछि लगभग सेमिफाइनल दौडबाट बाहिरिएको थियो।
पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको तिब्र आलोचनासमेत भएको थियो। यसरी सुपर १२ बाट आउट हुनै लागेको पाकिस्तानले अविश्वसनीय पुनरागमन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो।
त्यसो त पाकिस्तानको यो पुनरागमनमा उसको आफ्नै खेल मात्र नभएर नेदरल्यान्डसको महत्वपूर्ण भूमिका रह्यो। नेदरल्यान्डले दक्षिण अफ्रिकाविरूद्ध स्तब्ध नतिजा ननिकालेको भए पाकिस्तानले कराँचीको टिकट काटिसक्नुपर्थ्यो। तर अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा पुग्यो।
निकै भाग्यमानी मानिएको पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्ने तयारीमा छ।
पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप ट्रफी उचालेको थियो। त्यसपछि पाकिस्तान लगातार पाँचौ पटक फाइनलमा पुग्न सकेको छैन।
त्यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको फाइनलमा पनि पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो।
सन् २०१० को टी२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको पाकिस्तानले गतवर्षको विश्वकपमा पनि अष्ट्रेलियासँग ५ विकेटले सेमिफाइनलमै पराजित भएर बाहिरिएको थियो।
यस्तै न्यूजिल्याण्ड समूह एकको विजेता हुँदै सेमिफाइनलमा पुगेको टोली हो। सुपर १२ मा इङ्ल्याण्डसँग मात्र पराजित भएको न्यूजिल्याण्डले ५ मध्ये ३ खेलमा जित निकालेको छ भने अफगानिस्तानसँग अंक बाँडेको थियो।
न्यूजिल्याण्ड, इङ्ल्याण्ड र अष्ट्रेलियाको समान ७-७ अंक भए पनि राम्रो रन रेटका आधारमा न्यूजिल्याण्ड समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो।
पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म २८ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमध्ये पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन्।
यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमध्ये पाकिस्तान चार खेलमा विजयी भएको छ।