दसौं नम्बरमा ब्याटिङ गरेका पाकिस्तानी क्रिकेटर नसिम शाहले अन्तिम ओभरमा दुई छक्का प्रहार गरेपछि अफगानिस्तान र भारत एसिया कपबाट बाहिरिन बाध्य भए।
यो खेलपछि एसिया कपको फाइनलको टुंगो लागेको छ। आगामी आइतबार दुबईमा पाकिस्तान र श्रीलंकाबीच फाइनल भिडन्त हुनेछ। फाइनलअघि पाकिस्तान र श्रीलंका सुपर फोरको खेलमा भिड्ने छन्।
बिहीबार भारत र अफगानिस्तानबीचको खेल औपचारिकतामै सीमित हुनेछ।
क्रिकेट मैदानमा पाकिस्तान र अफगानिस्तान परम्परागत प्रतिद्वन्द्वी नभए पनि बुधबारको खेलमा यी दुई टोलीबीच तनाव भयो।
नसिम शाहको म्याच विनिङ सट प्रहारपछि मैदानमा आक्रामकता पनि देखिएको थियो।
खेलसँग सम्बन्धित एउटा घटना अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
खेलको क्रममा पाकिस्तानी क्रिकेटर आसिफ अली र अफगान बलर फरिद अहमद एक-अर्कासँग झगडामा उत्रिए। आसिफ अलीले फरिद अहमदमाथि ब्याट उठाएपछि दुई जनाबीच भनाभन भएको थियो।
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस विषयमा पाकिस्तानी क्रिकेटर आसिफ अलीलाई प्रतिबन्ध लगाउन माग गरिरहेका छन्।
केही समर्थक आसिफ अलीको समर्थनमा छन् र उनको कार्यलाई सही भनेका छन्।
बुधबार भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो।
यो स्कोर ठूलो थिएन तर पाकिस्तानी टोलीले यसलाई पछ्याउन निकै संघर्ष गर्नुपरेको थियो। १८ औं ओभरसम्म पाकिस्तानको जितको बाटो कठिन थियो।
१९ औं ओभरको चौंथो बलमा पाकिस्तानी खेलाडी आसिफ अलीले फरिद अहमदको बलिङमा उत्कृष्ट छक्का प्रहार गरे। जसका कारण पाकिस्तानको जितको आधार तय भएको थियो।
अर्को बलमा उनी आउट भए र पाकिस्तानी टोलीमाथि हारको दबाब बढ्यो।
पेभिलियन फर्कनुअघि फरिद र आसिफबीच भनाभन भयो। पहिले फरिदले केही कुरा भने, उनको कुरामा आसिफ अली रिसाए।
कुरा यति बढ्यो कि आसिफ अलीले पहिलो पटक फरिदमाथि हात उठाएको देखियो र त्यसपछि उनले ब्याट पनि उठाए।
फरिद पनि पछि हटेनन् र उनले आसिफ अलीसँग आँखा जुधाउन थाले। मैदानमा उपस्थित अफगानिस्तानका खेलाडीले हस्तक्षेप गरेपछि आसिफ अली फर्किए।
पछि अन्तिम ओभरमा आएका नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए।
खेलपछिको पत्रकार सम्मेलनमा पाकिस्तानी खेलाडी शादाब खानलाई घटनाबारे सोधियो। उनले यस्ता कुरा मैदानमै समाप्त हुने प्रतिक्रिया दिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५ रन बनाए। निकै कम स्कोर भए पनि अफगानिस्तानले पाकिस्तानको ब्याटिङ दबाबमा राख्यो।
पाकिस्तानले अन्तिम १२ बलमा जितका लागि २१ रन जोड्नु परेको थियो। अफगानिस्तानका लागि फरीदले १९ औं ओभर बलिङ गरेका थिए।
फरीदले दोस्रो बलमा हरिस रउफलाई शून्य रनमा आउट गरे। योसँगै पाकिस्तानको आठ विकेट गयो।
यसअघि खुशदिल शाहलाई अन्तिम ओभरको अन्तिम बलमा फजलुल्लाह फारुकीले बोल्ड गरेका थिए। पाकिस्तानका लागि तीव्र गतिमा ब्याटिङ गरिरहेका आसिफ अलीले १९ औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै अफगानिस्तानलाई दबाबमा राखेपनि अर्को बलमा फरीदले उनलाई क्याच आउट गराए ।
अन्तिम सात बलमा पाकिस्तानले जितका लागि १२ रन बनाउनु परेको थियो र पाकिस्तानसँग एक विकेट मात्र बाँकी थियो। यस्तोमा आसिफ अली ८ बलमा १६ रन बनाएर आउट भए ।
अफगानिस्तानका लागि अन्तिम ओभर फजलुल्लाह फारुकीले बलिङ गरे। पाकिस्तानले ६ बलमा ११ रन बनाउनु परेको थियो र एक विकेट मात्र बाँकी थियो ।
नसिम शाहले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे। फजलुल्लाह फारुकीले योर्कर प्रहार गर्ने क्रममा फुल टस फ्याँकेपछि खेल नसिमलाई सजिलो भएकव थियो।
अर्को बलमा फजलुल्लाहले फेरि त्यही गल्ती गरे र नतिजा त्यही भयो।