केही वर्षअघिसम्म भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली आफ्नै नियम र मुड अनुसार खेल्ने क्रिकेटर थिए। यसको सबैभन्दा ठूलो कारण उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार रन बनाइरहेको थियो।
कोहलीको ब्याटिङका कारण सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा ५१ शतकको कीर्तिमान भंग हुने समेत विश्लेषण गरिन्थ्यो।
कोहलीको करिअर एक दशकसम्म निरन्तर उत्कृष्ट फर्ममा चलिरह्यो।
उनको ब्याट बोलिरहेको हुनाले उनी सबैको केन्द्रमा थिए। अन्तर्राष्ट्रिय स्तरमा टेष्ट र एकदिवसीय क्रिकेटमा ७० शतक बनाउनु सानो उपलब्धि होइन।
तर अहिले उनै कोहलीको ब्याटमा खिया लागेको छ। उनले नोभेम्बर २२, २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्।
३३ वर्षीय कोहलीले यो अवधिमा १७ टेस्ट, २१ एकदिवसीय, २५ टी-२० र ३७ आइपिएल खेल सहित १०० भन्दा बढी इनिङ्स खेलेका छन्, जसमा उनले शतक बनाउन सकेनन्।
कोहली पूर्णरूपमा 'आउट अफ फर्म'मा छन् भन्ने पनि होइन। वास्तवमा उनले आफ्नो कप्तानीका दिनहरूमा राम्रो प्रदर्शन गरेर आफूले बढाएको स्तरको खाडल बेहोर्नु परेको छ।
उनी सामान्यतया राम्रो सट खेल्छन्, राम्रो शुरुवात गर्छन्। तर आफ्नो इनिङ्सलाई ठूलो इनिङ्समा परिणत गर्न सकिरहेका छैनन्।
बंगलादेशविरुद्ध कोलकातामा शतक प्रहार गरेपछि उनले धेरैंपटक पचास वा सोभन्दा बढी रन बनाउन सफल भए। तर पनि आफ्नो करियरको ७१औँ अन्तर्राष्ट्रिय शतक उनको नजिक पुग्नै छाडेको देखिन्छ।
इङ्ल्यान्डविरुद्धको टेस्टदेखि पहिलो एकदिवसीय खेलसम्म कोहलीले ठूलो रन बनाउन सकेनन्, त्यसपछि टिममा उनको उपस्थितिलाई लिएर प्रश्न उठिरहेको छ।
टेस्टअघि भारतले अभ्यास खेल खेलेको थियो। जसमा कोहली आफ्नो लयमा देखिएका थिए, पहिलो इनिङ्समा ३३ रन बनाएपछि कोहलीले दोस्रो इनिङ्समा ६७ रन बनाएका थिए। तर पाँचौ टेस्टमा कोहलीले ११ र २० रन मात्र बनाउन सके।
अन्तर्राष्ट्रिय क्रिकेटमा मात्रै होइन, कोहलीले आइपिएलमा पनि ठूलो इनिङ्स खेल्न सकेनन्। यस सिजनको १६ इनिङ्समा उनले जम्मा ३ सय ४१ रन बनाएका थिए र यस अवधिमा उनको ब्याटिङ स्ट्राइक रेट पनि ११६ भन्दा कम थियो, जुन उनको उत्कृष्ट भन्दा धेरै कम मानिन्छ।
कोहलीले लामो समयदेखि ठूला इनिङ्स खेल्न नसकेको भए पनि ब्याटिङ गर्दा समस्यामा परेको देखिँदैन, हरेक रनका लागि संघर्ष गरिरहेको देखिँदैन।
यद्यपी उनी लामो समय विकेटमा टिक्न सकेनन् त? यस्तो अवस्थामा कोहलीले आत्मविश्वास गुमाउँदै गएको वा ब्याटिङमा ध्यान केन्द्रित गर्न नसकेको खेल विश्लेषकको भनाइ छ।
कोहली क्रिजमा संघर्षरत नदेखिए पनि केही प्राविधिक त्रुटिबाट मुक्त हुन सकेका छैनन्। उनी अहिले धेरैजसो फ्रन्टफुटमा खेलिरहेको देखिन्छन्। तर, यही कारणले मात्रै ठूला इनिङ्स खेल्न नसकेको उपयुक्त नहोला।
कोहलीको करिअरमा पहिलो पटक यस्तो शतकको संकट हो।
टेस्ट क्रिकेटमा ब्याट्सम्यानको पछिल्लो वरियतामा उनी तीन स्थान तल झरेर १३ औं स्थानमा पुगेका छन्।
साथै पहिलो पटक क्रिकेट प्रेमीहरूले उनको टोलीमा स्थानलाई लिएर प्रश्न गर्न थालेका छन्।
कोहलीको असफलताले भारतीय मिडल अर्डरलाई असर गरिरहेको भन्दै मानिसहरू सामाजिक सञ्जालदेखि अन्य ठाउँमा आलोचना गरिरहेका छन्।
टी-२० टोलीबाट हटाउन माग
यो वर्ष खेलेको आइपिएलमा कोहलीले आफ्नो असफलतालाई पन्छाउन ओपनरको भूमिका छनोट गरे। तर त्यसले पनि उनलाई फाइदा गरेन। टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा पनि अपेक्षाकृत युवा खेलाडीहरूको स्ट्राइक रेट उनीहरूभन्दा राम्रो देखिएको छ।
यस वर्षको टी–२० विश्वकप हुन १०० दिनभन्दा कम समय बाँकी छ। अस्ट्रेलियाको पिचको चुनौतीलाई ध्यानमा राख्दै कोहलीलाई १५ सदस्यीय टोलीबाट हटाउन माग गरिएको छ।
यसको ठूलो कारण के हो भने कोहलीलाई रिप्लेस गर्न दावेदार देखिएका छन्। सूर्यकुमार यादव, श्रेयस अय्यर र दीपक हुड्डा जस्ता क्रिकेटर कोहलीको स्थान लिन लाइनमा उभिएका छन्।
टी–२० विश्वकपअघि भारतीय छनोटकर्ताले वेस्ट इन्डिज र जिम्बावे भ्रमण गर्ने र एसिया कपमा सहभागी हुने टोली छनोट गर्नुपर्नेछ। बिहीबार घोषणा गरिएको भारतीय टी-२० टोलीमा कोहलीलाई आराम दिइएको भनिएको छ।
यदि कोहली जिम्बावे भ्रमणका लागि पनि छनोट भएनन् भने उनका लागि ठूलो धक्का हुन सक्छ।
तर उनको ठाउँ लिन तयार रहेका खेलाडीलाई लामो समयसम्म नजरअन्दाज गर्न सकिँदैन। २७ वर्षीय दीपक हुड्डाको उदाहरण अगाडि छ, जो बलियो ब्याटिङका साथ उपयोगी अफ स्पिन बलर साबित हुन सक्छन्।
दीपक हुडालाई यस वर्षको आइपिएल सिजनमा लखनऊ सुपर जायन्ट्सको टोलीले बलरको रूपमा उत्कृष्ट प्रयोग गरेको थियो। टी-२० मा रविचन्द्रन अश्विनको पुनरागमनको सम्भावना कम छ, त्यसैले हुड्डाले यजुवेन्द्र चहलसँग राम्रो जोडी बनाउन सक्ने अनुमान गरिएको छ।
दीपक हुड्डाको विशेषता यो पनि छ कि उनी टोलीको आवश्यकताअनुसार जुनसुकै ठाउँमा ब्याटिङ गर्न तयार छन्। उनले आयरल्याण्डविरुद्ध मात्र ५५ बलमा सीधा ब्याटिङ गर्दै जसरी सट खेलेका छन्, त्यसको उदाहरण भारतमा विरलै पाइन्छ।
उनी न स्पिन खेल्नहिचकिचाउँछन् न सर्ट पिच बलले उनलाई डराउँछन्। अष्ट्रेलियाको पिच हेर्दा उनको यो क्षमता ठूलो विशेषतामा परिणत हुन सक्छ।
टी–२० विश्वकपका लागि टोली छनोट गर्दा छनोटकर्ताले टी–२० को आवश्यकता र चुनौतीलाई ध्यानमा राख्नेछन्। किनभने विश्वभरका धेरै टोलीहरूले अझ आक्रामक र छिटो ब्याटिङ गर्ने विकल्प रोजेका छन् र उनीहरूको टोलीले पनि यसको फाइदा उठाइरहेका छन्।
अर्कोतर्फ, भारतसँग अझै पनि शीर्ष क्रममा लोकेश राहुल, रोहित शर्मा र विराट कोहली जस्ता ब्याट्सम्यानहरू परम्परागत शैलीमा खेलिरहेका छन्।
यी तीनै ब्याट्सम्यान ठूला इनिङ्स खेल्न सक्षम छन् तर अहिले इनिङ्सलाई अन्त्यमा लैजाने इच्छाशक्तिको कमी छ। यस्तो अवस्थामा सूर्यकुमार यादव र रिशव पन्तसँगै दीपक हुड्डाले भारतीय मध्यक्रमलाई बलियो बनाउन सक्छन्।
कोहलीको वर्तमान ब्याटिङ लाइनअपको फाइदा उठाउन लाइनमा अन्य ब्याट्सम्यानहरू छन्। जसमा श्रेयस अय्यर पनि पर्छन्। तर, उनले अहिलेसम्म पाएको अवसरको पूरा सदुपयोग गर्न सकेका छैनन् र इंग्ल्याण्डको शृङ्खलामा सर्ट पिच बल खेल्ने उनको कमजोरी पनि देखिएको छ। यसका बाबजुद पनि अय्यरलाई निकै प्रतिभाशाली ब्याट्सम्यान मानिन्छ।
श्रेयस अय्यरका अलावा गतिशील क्रिकेटरका रूपमा सञ्जु सामसन पनि टोलीमा स्थानका लागि दावेदार छन्।
टी–२० विश्वकपका लागि टोलीमा ठूला दावेदार हुन्, सूर्यकुमार यादव।
यादवले २४ एकदिवसीय खेलमा ४१ को औसत र ९७ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको यो प्रदर्शन टोलीमा स्थान पाउन पर्याप्त छ।
उनले इंग्ल्याण्ड विरुद्धको शृंखलाको अन्तिम टी-२० खेलमा मात्र ५५ बलमा ११७ रन बनाएका थिए।
इंग्ल्याण्डविरुद्ध टी-२० मा शतक प्रहार गर्ने सूर्यकुमार यादव टी-२० क्रिकेटमा शतक बनाउने पाँचौं भारतीय ब्याट्सम्यान हुन्। उनी ब्याटिङ गर्न निस्कँदा तेस्रो ओभरमा टोलीको स्कोर दुई विकेटमा १३ रन थियो भने टोलीलाई जितका लागि २१६ रनको विशाल लक्ष्य थियो।
अन्तिम दुई ओभरमा भारतलाई जितका लागि ४१ रन चाहिएको थियो तर यादवले हार मानेनन्। यादवले मोइन अलीको पाँच बलमा १६ रन बनाए पनि अन्तिम ओभर अघि नै ओभरको अन्तिम बलमा आउट भए। यो खेल भारतले जित्न सकेन तर यादवले आफ्नो उत्कृष्ट ब्याटिङले फ्यानको मन जितेका थिए।
कोहलीको क्षमतालाई हेर्दा उनी अहिलेको संकटबाट बाहिर निस्किन्छन् भन्नेमा कसैले शंका गर्ने छैनन्। उनले यहाँबाट बलियो पुनरागमन गर्न सक्छन्, जसरी उनले १८ वर्षको उमेरमा दिल्ली रणजी टोलीबाट करिअर सुरु गरेका थिए।
कोहलीले कर्नाटकविरुद्ध डेब्यू गर्दै थिए। खेलको रात उनको बुबाको निधन भयो। तर बिहानै मैदानमा खेल्न आएर करिअरकै उत्कृष्ट इनिङ्स खेले।
कर्नाटकको बलियो बलिङका अगाडि कोहलीले ९० रनको उत्कृष्ट पारी खेले। त्यो दिन फिरोजशाह कोटला मैदानमा कोहलीको ब्याटिङ देख्नेहरूले अझै सम्झन्छन् कि त्यो तीन घण्टाको इनिङ्सले एक युवालाई परिपक्व क्रिकेटरमा परिणत गरेको थियो।
फिल्ड अम्पायरिङको गल्तीका कारण कोहलीले आफ्नो शतक पूरा गर्न सकेनन्, उनी गलत एलबिडब्लू आउट भएका थिए।
उनले विगत ३० महिनादेखि क्रिकेट मैदानमा ठूला इनिङ खेल्न सकेका छैनन्, तर पनि उनको हालको कीर्तिमानले उनलाई विश्व क्रिकेटका दिग्गजको सूचीमा उभ्याउनेछ।
क्रिकेटमा बितेका कुराले केही अर्थ राख्दैन, कुनै पनि खेलाडीका लागि उसको वर्तमान फर्मको महत्वपूर्ण भूमिका हुन्छ। सत्य यो हो कि कोहलीको हालको लय कोहली आफैंले बनाएको मापदण्डसँग मेल खाँदैन।
-बीबीसी हिन्दीमा प्रकासित समाचारको भावानुवाद