नवप्रवेशी टिम गुजरात टाइटन्सले आइपिएल २०२२ को उपाधि जितेको छ। आइतबार अहमदावादमा भएको फाइनल भिडन्तमा राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात च्याम्पियन बनेको हो।
यहीँ सिजनदेखि आइपिएलमा प्रतिस्पर्धा गर्न थालेको गुजरात १४ वर्षपछि च्याम्पियन बन्ने राजस्थानको लक्ष्य बाधक बन्यो। राजस्थान पछिल्लो पटक सन् २००८ को पहिलो सिजनमा च्याम्पियन बनेको थियो।
आइतबार ७ विकेटको सहज जित निकाल्ने क्रममा राजस्थानले दिएको १३१ रनको सामान्य लक्ष्य गुजरातले ११ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो।
गुजरातको जितमा कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरे। बलिङमा ३ विकेट लिएका उनले ब्याटिङमा पनि योगदान गरे। उनले ३० बलमा ३४ रन बटुलेका थिए।
ओपनर ऋद्धिमान साह ५ रनमा आउट भए। अर्का ओपनर शुभमान गिलले नटआउट ४५ रन जोडे। उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
म्याथ्यु वेड भने ८ रनमै पेभिलियन फर्किएका थिए। डेभिड मिलरले १९ बलमा नटआउट ३२ रनको योगदान गरे। मिलरले ३ चाौका र १ छक्का प्रहार गरे।
बलिङमा राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १३० रन जोड्यो।
उसका लागि ओपनिङ ब्याट्सम्यान जोश बटलरले सबैभन्दा बढी ३९ रन जोडे। उनले ३५ बलमा ५ चौका हिर्काए।
ओपनर यशस्वी जैसवाल १६ बलम २२ रन जोडेर आउट हुँदा कप्तान सन्जु सामसनले १४ रन मात्र जोडे। कप्तान सन्जुको विकेट गुजरातका कप्तान पाण्ड्याले लिएका थिए।
देवदुत पाडिकल २ रन र रविचन्द्रन आस्विन ६ रनमै आउट हुँदा राजस्थान दबाबमा परेको थियो। यस्तै शिमरन हेटमेयरले पनि ११ रनभन्दा बढी जोड्न सकेनन्।
रियान परागले १५ रन र ट्रेन्ट बोल्डले ११ रन जोड्दा राजस्थानले १३० रनको योगफल तयार गर्यो।
बलिङमा गुजरातका कप्तान पाण्ड्याले ३ विकेट लिए। उनले ४ ओभरमा १७ रन मात्र खर्चिए। साइ किशोरले २ विकेट लिँदा मोहमद सामी, यश दयल र रासिद खानले एक एक विकेट हात पारे।