बहराइनले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बनाएको छ।
गल्फ कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको साउदी अरेबियाविरूद्धको खेलमा निर्धारित २० ओभरमा १ विकेट गुमाएर ३१८ रन बनाउँदै बहराइनले सर्वाधिक रनको कीर्तिमान बनाएको हो।
यसअघि युगान्डाले सन् २०१९ मा मालीविरूद्ध ३१४/२ रन बनाउँदै कीर्तिमान बनाएको थियो।
बहराइनकी दिपिका रसाङ्गिकाले ६६ बलमा ३१ चौका अविजित १६१ बनाउँदै एकै पारीमा सर्वाधिक रन बनाउने महिला खेलाडीको कीर्तिमानसमेत बनाइन्।
पूर्व श्रीलंकन खेलाडी दिपिका र थरंगा गजनायकेले दोस्रो विकेटको लागि अविजित २५५ रनको साझेदारी गरे। यो कुनै पनि दोस्रो विकेटको लागि सर्वाधिक साझेदारी हो।
गजनायकेले ५६ बलमा ९४ रन बनाउँदा रसिका रोड्रोगोले ११ बलमा १३ रनको योगदान दिइन्।
बहराइनले अतिरिक्तबाटै ५० रन लिएको थियो। जसमा २ बाइ, १ लेगबाई १३ नो बल, ३४ वाइड सामेल थिए।
साउदी अरबका लागि इमान इजाजले एक विकेट लिइन्।
३१९ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो। उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
यो सँगै खेलमा बहराइनले २६९ रनको फराकिलो जित हात पारेको थियो।
बहराइनका लागि दिपिका रसाङ्गिकाले ३, पवित्रा सोट्टी र सचिनी जयासिंगले २-२ तथा थरंगा गजनायकेले १ विकेट हात पारे ।