श्रीलंकाविरूद्धको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ। गएराति सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडिनै सिरिज २–० ले जितेको हो।
श्रीलंकाले दिएको १ सय ८४ रनको लक्ष्य घरेलु टोली भारतले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
उसका लागि श्रेयस अय्यरले उत्कृष्ट अर्धसतकीय पारी खेले। ४४ बल खेलेका उनले ६ चौका र ४ छक्कासहित अविजित ७४ रन बनाए।
यस्तै, रवीन्द्र जडेजाले आक्रामक पारी खेल्दै १८ बलमा सात चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाए। सञ्जु सामसन ३९, इशान किशन १६ र कप्तान रोहित शर्मा एक रनमा आउट भए ।
श्रीलंकाका लागि लाहिरु कुमाराले दुई र दुष्मन्था चामेराले एक विकेट लिए।
त्यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एशोसियसनको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।
उसका लागि पथुम निशंका र कप्तान दासुन शनाकाले उत्कृष्ट पारी खेले। निशंकाले ५३ बलमा ११ चौकासहित ७५ रन बनाउँदा कप्तान शानकाले १९ बलमा पाँच छक्का र दुई चौकासहित अविजित ४७ रनको योगदान दिए।
यस्तै धनुष्का गुणतिलका ३८, दिनेश चन्डिमल ९, चरिथा अशलंका दुई र कमिल मिश्रा एक रनमा आउट भएका थिए।
बलिङमा रवीन्द्र जडेजा, जसप्रित बुमराह, युजवेन्द्र चहल, हर्षल पटेल र भुवनेश्वर कुमारले एक-एक विकेट लिए।
यसअघि पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो। तेस्रो तथा अन्तिम टि२० आई खेल आइतबार धर्मशालामानै हुनेछ।