श्रीलंकासँगको पहिलो टी २० अन्तर्राष्ट्रियमा भारतले ६३ रनको सहज जित निकालेको छ।
२ सय रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।
उसका लागि मध्यक्रमका चरिथ असंलका सर्वाधिक ५३ रन बनाए। यस्तै दुश्मन्था चामिराले २४, चामिका करूणारत्ने २१, कमिल मिश्राले १३, जानिथ लियाङ्गेले ११ तथा दीनेश चान्डिमलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका लागि भुवनेश्वर कुमार र वेंकटेश ऐरले समान २-२ विकेट लिए।
युजभेन्द्र चहल र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो।
त्यसअघि लखनऊमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो।
भारतका लागि ईशान किशनले सर्वाधिक ८९ रन जोडे। ५६ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। यस्तै श्रेयस ऐर २८ बलमा ५ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे ।
कप्तान रोहित शर्मा ४४ रनमा आउट हुनुअघि किशनसँग पहिलो विकेटका लागि ११.५ ओभरमा १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए।
रविन्द्र जडेजा ३ रनमा अविजित रहे।
श्रीलंकाका लाहिरू कुमारा र दासुन शनकाले १–१ विकेट लिए।
यो सँगै घरेलु टोली भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल धर्मशालामा भोलि हुनेछ।