वेष्ट इण्डिजविरुद्धको टी–२० क्रिकेट श्रृंखला भारतले ‘क्लिन स्विप’ गरेको छ।
गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली वेष्टइन्डिजलाई १७ रनले हराउँदै घरेलु टोली भारतले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।
भारतले दिएको १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रनमा समेटियो। उसका लागि विकेटकिपर निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए। ४७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै रोमारियो सेफर्डले २९, रोभम्यान पावेलले २५ र रोस्टन चेसले १२ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा भारतका लागि हर्षल पटेलले तीन, शार्दुल ठाकुर, बैंकटेश अय्यर र दीपक चाहरले समान २-२ विकेट हात पारे।
त्यसअघि, कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८४ गुमाएर रन बनाएको थियो।
उसका लागि सूर्यकुमार यादवले आक्रामक पारी खेले। ३१ बल खेलेका उनले एक चौका र सात छक्काको मद्दतमा ६५ रन बनाए। त्यस्तै, वैंकटेश अय्यरले पनि उत्कृष्ट पारी खेले । उनले १९ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ३५ रनको योगदान दिए।
त्यस्तै, इशान किशन ३४, श्रेयस अय्यर २५, कप्तान रोहित शर्मा सात र ऋतुराज गायकवाड चार रनमा आउट भए।
वेष्ट इण्डिजका जेसन होल्डर, रोस्टन चेस, हेडेन वाल्श, रोमारियो सेफर्ड र डोमिनिक ड्रेक्सले एक-एक विकेट लिए।
भारत भ्रमणमा रहेको वेष्टइन्डिजले यसअघि तीन खेलको वान डे सिरिज पनि गुमाएको थियो।