चार देश सम्मिलित टी-२० सिरिजअन्तर्गत आयरल्यान्डले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७ रनमा अलआउट भयो।
आयरल्यान्डका ओपनरद्वय पाउल स्टर्लिङ २ रन र एन्डी बालबर्नी १९ रनमा आउट भए। स्टर्लिङलाई कमलसिंह ऐरी र एन्डीलाई अभिनास बोहराले बोल्ड गरेका थिए।
यस्तै गारेथ डेलेनीलाई ९ रनमा जितेन्द्र मुखियाले आउट गरे। कर्टिस काम्फरलाई २० रन र सेन गेटकेटलाई १४ रनमा दीपेन्द्रसिंह ऐरीले आउट गरे। सिमी सिंहलाई पनि दीपेन्द्रले १ रनमा र लोर्कन टकरलाई १५ रनमा पेभिलियनको बाटो देखाए।
दीपेन्द्रले चार विकेट लिँदा २१ रन मात्र दिए। यो उनको टी-२० मा व्यक्तिगत उच्च प्रदर्शन हो।
आयरल्यान्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोडे। उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले आउट गरे। जससँगै सन्दीप टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बने।
नेपालका लागि दीपेन्द्रले चार विकेट लिँदा अभिनास बोहराले दुई विकेट लिए। सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक एक विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालमाथि युएईले २५ रनले हराएको थियो। आजको खेलमा फराकिलोअन्तरले जित हात पारे नेपालले सिरिज जित्ने सम्भावना हुनेछ।