नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्। जससँगै उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्।
सन्दीपले सोमबार आयरल्यान्डविरूद्धको खेलमा ५० विकेट पूरा गरेका हुन्।
ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्।
सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीपले २९ खेलमा ५० विकेट पूरा गरे। टी-२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिँदा २० रन दिनु हो।
उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन्। उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन्।
सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। सन्दीपपछि दोस्रो स्थानमा रहेका करण केसीले ३३ खेलबाट ४४ विकेट लिएका छन्।
सन्दीप नेपालका लागि एकदिवसीय खेलमा पनि सर्वाधिक विकेट लिने बलर हुन्। सन्दीपले अहिलेसम्म १६ एकदिवसीय खेलमा ४१ विकेट लिइसकेका छन्। दोस्रो स्थानमा रहेका करण केसीले १४ खेलमा २१ विकेट लिएका छन्।