तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले २०७६ को कात्तिकमा ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएको थियो। पारस खड्का कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तानको भूमिकामा थिए।
त्यसयता ज्ञानेन्द्रको कप्तानीमा नेपालले ११ टी-२० र १० एकदिवसीय खेल खेलेको छ। नेपालले ११ टी-२० मध्ये ८ खेलमा जित हात पारेको छ। यस्तै नेपाल १० मध्ये ६ एकदिवसीय खेलमा विजयी भएको छ।
यो बीचमा ज्ञानेन्द्रको कप्तानीमा नेपालले दुई वटा सिरिज जित्यो। घरेलु मैदानमा आयोजना भएको मलेसिया र नेदरल्यान्ड्सविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल च्याम्पियन बन्यो। यस्तै ओमानमा नेपालले पपुवा न्युगिनीविरूद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले आफ्नो पक्षमा पार्यो।
ज्ञानेन्द्रकै कप्तानीमा नेपालमा आयोजनामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य पदक जितेको थियो। उनले त्यतिबेला भुटानविरूद्ध शतक प्रहार गरेका थिए। जससँगै उनी टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने नेपालका दोस्रो कप्तान बनेका थिए। पहिलो शतक प्रहार गर्ने कप्तान भने पारस खड्का हुन्।
दुबै फर्म्याटमा सफल कप्तानीको भूमिका निर्वाह गरेका ज्ञानेन्द्रलाई क्यानको गत बुधबार बसेको बोर्ड बैठकले नेतृत्वको प्रश्न उठाउँदै कप्तानबाट हटाउने निर्णय गर्यो।
खेलाडी वर्गीकरणको विषयमा सेतोपाटीमा बोलेको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाइए पनि उनलाई कप्तानबाट हटाउनुको कारण नेतृत्व पनि भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेतोपाटीलाई बताएका थिए।
चन्दले सेतोपाटीसँगको कुरा गर्दै आचारसंहिता विपरीत मिडियामा कुरा गरेको र सफल नेतृत्व गर्न नसकेकाले कप्तानबाट हटाउनु परेको बताएका थिए। यस्तै उनले कप्तान ज्ञानेन्द्रमाथि गुटबन्दी गरेको गम्भीर आरोपसमेत लागएका थिए।
ज्ञानेन्द्रले भने अन्यायमा परेका खेलाडीका लागि बोल्नु कप्तानको जिम्मेवारी भएकाले आफूले बोलेको प्रतिक्रिया दिइसकेका छन्। ज्ञानेन्द्रले अन्यायमा परेका खेलाडीका कुरा अघि सार्दा गुटबन्दी भनिन्छ भने त्यसमा आफ्नो कुनै प्रतिक्रिया नरहेको स्पष्ट पारिसकेका छन्।
३१ वर्षीय ज्ञानेन्द्रले सन् २००५ मा यू-१५ टिमबाट नेपालको राष्ट्रिय जर्सी लगाउन सुरू गरेका थिए। त्यसपछि उनी यू-१७ र यू-१९ टिममा समावेश भए। सन् २००६ को यू-१९ विश्वकपमा उनले उत्कृष्ट खेल देखाउने क्रममा ६ खेलमा १४५ रन जोडेका थिए।
जसमा उनले प्लेट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाविरूद्ध नटआउट ४६ रन जोडे। त्यही वर्ष ज्ञानेन्द्र राष्ट्रिय टिममा परेका थिए। त्ययता ज्ञानेन्द्र लगातार नेपाली टिमबाट खेलिरहेका खेलाडी हुन्।
नेपालको लागि १६ वर्षदेखि निरन्तर खेलिरहेका ज्ञानेन्द्र एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले १६ एकदिवसीय खेल खेल्ने क्रममा ४१८ रन जोडेका छन्। जसमा चार अर्धशतक सामेल छन्।
ज्ञानेन्द्र टी-२० अन्तर्राष्ट्रियमा हाल खेलिरहेका खेलाडी मध्ये नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यास समेत हुन्। उनले ३२ टी-२० अन्तर्राष्ट्रिय खेलमा ६७३ रन जोडेका छन्। जसमा एक शतक र एक अर्धशतक सामेल छन्।
समग्रमा भने ज्ञानेन्द्र टी-२० मा सर्वाधिक रन जोड्ने ब्याट्सम्यनको सूचीमा दोस्रो स्थानमा छन्। समग्रमा नेपालका लागि टी-२० मा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान भने पारस खड्का हुन्। पारसले ३३ खेलमा ७९९ रन जोडेका थिए।