टी-२० विश्वकप २०२१ आजदेखि सुरु हुँदैछ। यसपटकको विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। युएई र ओमानमा हुने विश्वकपमा दुई चरणमा प्रतिस्पर्धा हुँदैछ।
पहिलो चरणमा आठ टिमबीच दुई समूहमा प्रतिस्पर्धा हुँदैछ।
समूह 'ए' मा पूर्व च्याम्पियन श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह 'बी' बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन्।
पहिलो चरणमा श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नुको कारण आइसिसी टी-२० वरीयता हो।
यसअघि यो विश्वकप सन् २०२० मा अस्ट्रेलियामा हुने तय थियो। कोभिड-१९ कारण विश्वकप एक वर्ष सरेको हो।
सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए।
जसमा पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भएका थिए।
पूर्व च्याम्पियन श्रीलंका वरीयतामा नवौं भएको तथा दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि सिधै छनोट भए पनि दुवै टिमले वरीयताका कारण पहिलो चरण खेल्नु पर्ने भएको थियो।
आइसिसीले वरीयताका शीर्ष आठ टिमलाई सिधै सुपर १२ मा स्थान दिँदा नवौं र दशौं वरीयताका टिमले पहिलो चरणमा खेल्नु पर्ने नियम बनाएको थियो।
श्रीलंका र बंगलादेशभन्दा पछि आइसिसीको स्थायी सदस्यको मान्यता पाएको अफगानिस्तानले भने वरीयताको आठौं स्थानमा रहेकाले सुपर १२ मा सिधैं स्थान पाएको थियो।
पहिलो चरणमा प्रतिस्पर्धा गर्ने आठ टिममा श्रीलंका र बंगलादेशसँगै आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओमान, नामिबिया र नेदरल्यान्ड्स हुन्।
आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र नामिबियाले छनोट चरण पार गरेका थिए।
छनोट चरणमा नेपाल भने असफल भएको थियो। एसिया छनोटबाटै बाहिरिदा नेपाल विश्व छनोटमा पुग्न असफल भएको थियो।
चार टिम पुग्नेछन् सुपर १२ मा
आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। चार-चार टिम सम्मिलित दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।
पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।
जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्।
२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता