पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपालका क्रिकेटर छनोट हुन असफल भएका छन्।
सिजन २०२१ का लागि भएको ड्राफ्टमा नेपाली क्रिकेटरलाई आबद्ध गर्न कुनै पनि टिमले इच्छा देखाएनन्।
ड्राफ्टमा नेपालबाट सन्दीप लामिछानेसहित १० क्रिकेटर परेका थिए। नेपालका सहित विश्वभरका ४ सय बढी खेलाडीले ड्राफ्टमा नाम लेखाएका थिए।
सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएका थिए। अन्य ९ क्रिकेटर सिल्भर श्रेणी-विदेशीमा थिए।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित आसिफ शेख, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल ड्राफ्टमा परेका थिए।
पिएसएलको ड्राफ्ट आइतबार दिउँसो भएको थियो। लाहोरमा भएको ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याए।
ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गरेका थिए। बाँकी खेलाडी ड्राफ्टबाट लिएका छन्।
एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने नियम थियो। यस्तै एक टिमले डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई जना खेलाडी आबद्ध पाउथे।
यस सिजनको पिएसएल २० फेब्रुअरीदेखि सुरु हुँदैछ। पिएसएलमा कराची किंग्स, क्वेटा ग्लाडिएटर्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, पेरावर जल्मी र लाहोर क्वालन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।