अस्ट्रेलियन क्रिकेट टिमका पूर्वब्याट्सम्यान डिन जोन्सको ५९ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
जोन्सको हृदयघातका कारण भारतको मुम्बईमा निधन भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पुष्टि गरेको छ।
उनी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को कमेन्ट्री टिमका सदस्यका रुपमा स्टार स्पोर्ट्समा आबद्ध थिए। त्यसका लागि उनी भारत आएका थिए।
आक्रमक खेलाडीको छवि बनाएका उनले अस्ट्रेलियाका लागि ५२ टेस्ट खेलेका थिए। जसमा उनले ३ हजार ६ सय ३१ रन बनाएका थिए। यस्तै उनले १६४ एकदिवसीय खेलमा ६ हजार ६८ रन बनाएका थिए। जसमा सात शतक र ४६ अर्धशतक समावेस छन्।
उनले सन् १९८४ मा वेस्ट इन्डिजविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यू गर्दा सोही वर्ष पाकिस्तानविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए।
उनले सन् १९९४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए।
उनको निधनप्रति विश्व क्रिकेट समुदायले दु:ख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन्।