भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएको केहिबेरमा अर्का ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
रैनाले धोनीसँगै खेल्न पाएको क्षण उत्कृष्ट र गर्व गर्नलायक भएको बताउँदै आफूले पनि धोनीको पथ पछ्याउने इन्स्टाग्राममा पोस्ट गरेका हुन्।
रैना सन् २०१८ देखि भारतीय टिममा छैनन्।
सन् २००५ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट भारतीय टिममा डेब्यू गरेका रैनाले १८ टेस्ट, २२६ एकदिवसीय र ७८ टी-२० अन्तर्राष्ट्रिय खेल खेले।
त्यसक्रममा उनले एकदिवसीयमा ५६ सय रन, टी-२० मा १६ सय रन र टेस्टमा ७ सय रन कटाए।
उनले टेस्ट र टी-२० मा १-१ शतक प्रहार गर्दा एकदिवसीय खेलमा ५ शतक बनाएका छन्।