क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० आयोजनाका लागि ट्रिनिडाड एन्ड टोबागो सरकारले अनुमति दिएको छ।
सिपिएलले आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। यसपटक एक देशमा मात्र प्रतियोगिता आयोजना गर्ने निर्णय भएको झन्डै एक महिनापछि सरकारको पनि अनुमति प्राप्त भएको हो।
सिजनको सिपिएलमा लिग चरण, सेमिफाइनल र फाइनल गरी ३३ खेल हुनेछन्। सबै खेल बिना दर्शकका रंगशालामा हुनेछन्। खेलहरु दुई वटा रंगशालामा हुने सिपिएलले जनाएको छ।
सिपिएल र ट्रिनिडाड सरकारबीचको सहमतिअनुसार सहभागी ६ टिमका खेलाडी र व्यवस्थापक, आयोजक, टेलिभिजन क्रु सदस्यहरू सिपिएल सुरु हुनुभन्दा दुई साता सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ। सबै जना ट्रिनिडाड पुगेपछि सेल्फ आइसोलेनमा बस्नु पर्ने हुँदा दुई साताअघि नै त्यहाँ पुग्नु पर्नेछ।
यस्तै ट्रिनिडाड पुग्नुअघि कोरोना भाइरसको पिसिआर टेस्ट गर्नु पर्नेछ। नेगेटिभ नतिजा आए मात्र ट्रिनिडाड जान पाइनेछ। ट्रिनिडाड पुगेपछि पनि दुई पटक पिसिआर टेस्ट गरिनेछ। ट्रिनिडाड पुगेको सात दिनमा र १४ दिनमा पिसिआर टेस्ट हुनेछ। लगातार दुई टेस्टमा नेगेटिभ नतिजा आएका मात्र सिपिएलमा सहभागी हुन पाउनेछन्।
सिपिएलका लागि खेलाडी छनोट गर्न ड्राफ्ट भइसकेको छ। ड्राफ्टमार्फत नेपालका सन्दीप लामिछाने जमैका तलावाजमा १ लाख ३० हजार अमेरिकी डलरमा छनोट भएका थिए।