इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बुधबार सुरु भएको पहिलो टेस्टमा वर्षा बाधक बनेको छ। साउथह्याम्टनमा भएको खेलमा वर्षा बाधक बन्दा पहिलो दिन १७.४ ओभरको खेल मात्र सम्भव भयो।
पहिले ब्याटिङ गरेको घरेलु टिम इंग्ल्यान्डले १ विकेटको क्षतिमा ३५ रन बनाएको छ। इंग्ल्यान्ड जोइ डेनली १४ रन र रोरी वर्नस् २० रन बनाएर खेलिरहेका छन्। डोम सब्ली शून्यमा आउट भए।
उनलाई वेस्ट इन्डिजका शानन ग्राबियलले बोल्ड गरे।
१ सय १६ दिनको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा बुधबारदेखि फर्किएको हो।
कोरोना भाइरसका कारण गत मार्चदेखि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएका थिए।
अस्ट्रेलिया र न्युजिल्यान्डबीच गत मार्च १३ भएको प्रतिस्पर्धा नै कोरोना भाइरसअघिको अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। सो एकदिवसीय सिरिजको दुई खेल बाँकी छदा कोरोनाभाइरस कारण सिरिज रद्द गरिएको थियो।
झण्डै चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नलाई वेस्ट इन्डिज टिम एक महिनअघि इंग्ल्यान्ड पुगेको थियो। त्यहाँ पुग्नुअघि सबै खेलाडीको कोरोनाको टेस्ट गरिएको थियो भने त्यहाँ पुगेर पनि खेलाडीहरु क्वारेन्टिमा बसेका थिए।