सन् २०२० मा क्रिकेटले 'ड्रिम स्टार्ट' गर्न पाएन। जसका कारण क्रिकेटको रोमाञ्चकता क्रिकेटप्रेमीले महसुस गर्न पाएनन्।
कोरोनाभाइरसका कारण प्रभावित भएका क्रिकेटका खेलको रोमाञ्चकता चाडैँ फर्कने क्रिकेटप्रेमीको आसा छ।
यो दशकमा केहि नयाँ र प्रतिभावान खेलाडीले आफ्नो जादू देखाउने पक्का छ। किनकी उनीहरुले गएका महिना र वर्षमा आफ्नो क्षमता देखाएर संकेत गरिसकेका छन्।
क्रिकेट सम्बन्धी चर्चित म्यागेजिन 'क्रिकेट मासिक' ले २०२० को दशक उत्कृष्ट खेल्न सक्ने २० जना क्रिकेटर छनोट गरेको छ। खेलाडी छनोट गर्ने क्रममा १५ जना प्रशिक्षक, खेलाडी, विश्लेषक लगायतसँग प्रश्न सोधिएको थियो।
प्रश्न गर्ने क्रममा क्रिकेटरको उमेरको हद राखिएको थिएन। छनोटमा परेका २० क्रिकेटरमा अफगानिस्तनका नूर अहमेद सबैभन्दा कान्छा १५ वर्षका छन् भने पाकिस्तानका हरिस राउफ पाका २६ वर्षका छन्। छनोटमा पर्न खेलाडीले २०२० सुरु हुनुअघि पाँच भन्दा कम टेस्ट, सात भन्दा कम एकदिवसीय र सात भन्दा कम टी-२० खेलेको हुनु पर्ने शर्त राखिएको थियो।
२०२० को दशकका उत्कृष्ट २० क्रिकेटरहरू :
शुभमान गिल (भारत)
२० वर्षीय भारतीय ब्याट्सम्यानले भारतको राष्ट्रिय टिममा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले आइपिएल टिम कोलकता नाइटराइडर्सबाट खेलिसकेका छन्। उनले २०१८ को यु-१९ विश्वकपमा पनि उत्कृष्ट खेलेका थिए।
टम बन्टन (इंग्ल्यान्ड)
२१ वर्षीय ब्याट्सम्यान टमले दक्षिण अफ्रिकाविरुद्ध गत फेब्रुअरीमा एकदिवसीय खेलमा डेब्यू गरेका थिए। उनले इंग्लिस टिमबाट गत वर्ष टी-२० मा डेब्यू गर्ने अवसर पाए।
नूर अहमद (अफगानिस्तान)
१५ वर्षीय अहमदले १४ वर्षको उमेरमा अफगानिस्तानको यु१९ टिममा डेब्यू गरेका थिए। देब्रे हाते स्पिनर अहमद यु१९ एसिया कपमा भारतविरुद्ध ३० रन दिएर ४ विकेट हात पारेपछि चर्चा बटुले।
नसीम साह (पाकिस्तान)
१७ वर्षे दायाँ हाते तीव्र गतिका बलर नसीमले गत वर्ष १६ वर्षको उमेरमा टेस्टमा डेब्यू गरेका थिए। कलिलै उमेरमा चर्चा बटुल्ने क्रममा उनी टेस्टमा ह्याट्रिक गर्ने युवा तीव्र गतिका बलर र टेस्टको एकै इनिङमा पाँच विकेट लिने युवा बलर बनेका थिए।
जोश फिलिप (अस्ट्रेलिया)
२३ वर्षीय विकेटकिपर ब्याट्सम्यान फिलिपले गत सिजनको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरे। उनले २९ बलमा ५२ रन प्रहार गरेको खेलमा उनको टिम सिड्नी सिक्सरले मेलवर्न स्टार्सलाई पराजित गरेर उपाधि जित्यो।
रचिन रवीन्द्र (न्युजिल्यान्ड)
न्युजिल्यान्डका २० वर्षीय अलराउन्डर रचिन बिस्फोटक ब्याट्सम्यान हुन्। उनी स्पिन र फस्ट दुवै तरिकाले बलिङ गर्न सक्छन्। उनी सन् २०१९ देखि न्युजिल्यान्डको ए टिममा छन्।
कार्तिक त्यागी (भारत)
१९ वर्षीय तीव्र गतिका बलर त्यागीले तीन वर्षअघि पहिलो श्रेणीको क्रिकेटमा डेब्यू गरेका थिए। २०२० को यु१९ विश्वकपमा पनि उनी भारतीय टिमका मुख्य खेलाडी थिए।
अकबर अली (बंगलादेश)
बंगलादेशका १८ वर्षीय विकेटकिपर ब्याट्सम्यान अलीले यु१९ विश्वकप आफ्नो देशलाई जिताउन फाइनलमा उत्कृष्ट खेले। उनले फाइनलमा नटआउट ४३ रन जोडेका थिए। त्यहिँ प्रदर्शनले उनले राष्ट्रिय टिमसम्मको बाटो तय गर्ने विश्लेषण गरिएको छ।
ओलीइ पोप (इंग्ल्यान्ड)
२२ वर्षीय इंग्लिस ब्याट्सम्यान पोपले पहिलो श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। उनको पहिलो श्रेणीमा ६०.६८ को औषत छ।
इब्राहिम जाद्रान (आफगानिस्तान)
१८ वर्षीय ब्याट्सम्यान जाद्रान पावर हिटरको रुपमा चिनिन थालेका छन्। दुई पटक यु१९ विश्वकप खेलिसकेका उनले बंगलादेशविरुद्ध खेलेर टेस्टमा डेब्यू गरिसकेका छन्। उनले खेलमा २०८ बलमा ८७ रन बनाएका थिए।
गेराल्ड कोइट्जी (दक्षिण अफ्रिका)
१९ वर्षीय तीव्र गतिका बलर गेराल्ड १४५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन्। डेल स्टेनलाई आफ्नो आदर्श मान्ने उनले यु१९ विश्वकप र दक्षिण अफ्रिकाको घरेलु फ्रेन्चाइज लिग खेलिसकेका छन्।
यशश्वी जैसवाल (भारत)
१८ वर्षीय भारतीय ब्याट्सम्यान जैसवालले २०१९ को विजय हजारे ट्रफीमा दोहोरो शतक हिर्काएका थिए। त्यसलगत्तै उनले यु१९ विश्वकपमा भारतीय टिमको ओपनिङ गर्ने अवसर पाए। उनले यु१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानविरुद्ध १०५ रन प्रहार गरेका थिए।
रहमुल्लाह गुर्बाज (अफगानिस्तान)
१८ वर्षीय विकेटकिपर गुर्बाजसँग ३६० डिग्रीमा ब्याट घुमाएर प्रहार गर्ने क्षमता छ। उनले गत वर्ष वेस्ट इन्डिविरुद्ध टी-२० मा डेब्यू गरेका थिए। यस्तै बंगलादेश प्रिमियर लिगमा उनले खुल्ना टाइगर्सका लागि १८ बलमा अर्धशतक प्रहार गरेका थिए।
जयडेन सिल्स (वेस्ट इन्डिज)
१८ वर्षीय तीव्र गतिका बलर जयडेनले २०२० यु१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे। १४० किलोमिटर प्रतिघन्टमा गतिमा बलिङ गर्ने उनको गति अहिले बढिरहेको छ।
हैदर अली (पाकिस्तान)
१९ वर्षीय ब्याट्सम्यान अलीले २०२० को पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका लागि उत्कृष्ट खेले। त्यसअघि उनले पहिलो श्रेणीको क्रिकेटमा डेब्यू गरेको सिजन ६४५ रन बनाएर सबैको ध्यान खिँचेका थिए।
क्वाइस अहमेद (अफगानिस्तान)
१९ वर्षीय लेगस्पिनर अहमेदले टी-२० मा डेब्यू गरिसकेका छन्। आयरल्यान्डविरुद्धको गत मार्चमा डेब्यू गर्दा २५ रन दिएर ३ विकेट हात पारे।
जेक फ्रासर म्याकगुर्क (अस्ट्रेलिया)
१८ वर्षका अस्ट्रेलियन ब्याट्सम्यानले गत वर्ष पहिलो श्रेणी र लिस्ट एको खेलमा डेब्यू गरे। दुवैमा अर्धशतक प्रहार गरिसकेका उनी उत्कृष्ट फिल्डर पनि हुन्।
पृथ्वी शा (भारत)
२० वर्षीय भारतीय ब्याट्सन शाले टेस्टमा डेब्यू गरिसकेका छन्। उनले डेब्यू खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका थिए।
हरिस राउफ (पाकिस्तान)
२६ वर्षीय तीव्र गतिका बलर हरिस गत सिजनको अस्ट्रेलियाको बिग ब्यास लिगबाट चर्चामा आए। डेल स्टेनको स्थानमा खेल्न पाएका उनले एक ह्याट्रिकसहित २० विकेट लिए। त्यसपछि उनलाई राष्ट्रिय टिममा स्थान दिइयो।
लासिथ इम्बुल्डेनिया (श्रीलंका)
२३ वर्षीय देब्रे हाते अर्थोडक्स स्पीनर लासिथ पछिल्लो समय श्रीलंकाको टेस्ट टिमका लागि पहिलो रोजाइका बलर हुन्।