कोरोना भाइरसका कारण नेपाली क्रिकेटका गतिविधि ठप्प छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनपछि नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न राष्ट्रिय प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो। तर कोरोनाका कारण क्यानका योजना अहिले अपलपत्र परेका छन्।
कोरोनाले प्रतियोगितालाई असर गरे पनि आन्तरिक काम भने गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।
'हामी आन्तरिक रुपमा सम्भव भए जति कार्यहरू निरन्तर रुपमा लकडाउनबीच पनि गर्दै आएका छौ,' चन्दको भनाइ छ।
नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्न लागेको बताउँदै चन्दले पुरुष क्रिकेटर र महिला क्रिकेटरसँग नयाँ सम्झौता गर्ने जानकारी दिए।
'महिला र पुरुष क्रिकेट खेलाडीहरुको नयाँ सम्झौता रुपरेखा अन्तिम चरणमा पुगेको छ,' चन्दले समाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनेका छन्।
चन्दले महिला र पुरुष खेलाडीको सम्झौता रकम कति हुन्छ भन्ने खुलाइएको छैन।
यसअघि पुरुष क्रिकेटरका लागि मासिक रुपमा तलब दिने व्यवस्था थियो। तर महिला क्रिकेटरका लागि भने पहिलो पटक सम्झौता गरेर रकम दिनका लागि काम भइरहेको हो।
यसअघि पुरुष क्रिकेटरका लागि तीन श्रेणीमा वर्गिकरण गरेर सम्झौता गरिएको थियो। जसमा ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ थियो।
डेढ वर्षअघिको वर्गीकरण अनुसार ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी थिए।
बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका थिए। सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी र विनोद भण्डारी थिए।
अब हुने सम्झौतामा खेलाडीहरूको नाम थपघट हुनेछ।
क्यान निलम्बन परेको बेलमा खेलाडीको तलब आइसिसीले ढिलो गरी दिएको थियो।
अध्यक्ष चन्दका अनुसार खेलाडीसँगको सम्झौता गर्ने गृहकार्यसँगै मुलपानी माथिल्लो मैदान, कीर्तिपुरस्थित टिय़ु क्रिकेट मैदान निर्माण कार्य भइरहेको छ।
क्यानले नयाँ आर्थिक नियमावली निर्माण गरिरहेको र अघिल्लो प्रतियोगिताको आयव्ययको हिसाब सार्वजनिक गर्ने तयारी पनि गरिएको छ।
यो आर्थिक वर्षमा सम्पन्न गर्ने राष्ट्रिय प्रतियोगिताहरु कोरोना कारण कारण स्थगित भएको अध्यक्ष चन्दको भनाइ छ। अब नयाँ आर्थिक वर्षभर गर्ने प्रतियोगिताको रुपरेखा बनाइनेछ।