अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) क्रिकेट कमिटीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि क्रिकेटका केही नियम परिवर्तन गर्न सिफारिस गरेको छ।
खेलाडी तथा म्याच अफिसिलको सुरक्षालाई ध्यानमा राख्दै नियम परिवर्तन गर्न सिफारिस गरिएको हो। अनिल कुम्ब्ले अध्यक्ष रहेको समितिको सिफारिसको अनुमोदनका लागि आगामी जुनमा बस्ने भनिएको आइसिसी कार्यकारी समिति समक्ष पेश गरिनेछ।
समितिले क्रिकेट बल टल्काउन नपाइने नियम बनाउन सिफारिस गरेको छ। यसअघि क्रिकेट बल टल्काउनका लागि सालिभा प्रयोग गरिदै आइएको थियो। यो प्रयोग हुँदा कोरोना संक्रमण हुन सक्ने आइसिसीको मेडिकल सल्लाहकार समितिका अध्यक्ष डा पिटर हरकोर्टले बताएका थिए।
यस्तै अन्तर्राष्ट्रिय खेलहरूमा स्थानीय अम्पायर र म्याच रेफ्री राख्न सक्ने नियम बनाउन सिफारिस गरिएको छ। यो नियम अबको टेस्ट, एकदिवसीय र टी-२० म्याचमा लागु हुनेछ। सन् २००२ देखि आइसिसीले प्रतिस्पर्धा गरिरहेको देशका अफिसियलहरू त्यहिँ खेलमा राख्न नपाइने नियम बनाएको थियो।
एक देशबाट अर्को देशमा जाँदा कोरोनाको संक्रमण हुन सक्ने र विभिन्न देशले ल्याएका नियमले गर्दा अम्पायर र म्याच रेफ्री उपलब्ध हुन कठिन हुने देखिएपछि नयाँ नियमको सिफारिस गरिएको हो।
अब आइसिसीले अनुमोदान गरेपछि छोटो अवधिका लागि स्थानीय अफिसयलले क्रिकेट खेलाउन सक्नेछन्।
यस्तै समितिले खेलका दौरान प्रविधि बढाउन पनि सिफारिस गरेको छ। डिआरएस रिभ्यू थप एक पटक लिन पाइने नियम राख्न भनिएको छ।