महेन्द्रसिंह धोनीले भारतीय राष्ट्रिय क्रिकेट टिमबाट अब फेरि खेल्छन् वा खेल्दैनन् यकिन छैन। तर उनले आइपिएलमा आगामी २ सिजन खेल्ने चेन्नई सुपरकिंग्सका उपाध्यक्ष एन श्रीनिभाषन बताएका छन्।
आइपिएल २०२० खेल्ने पक्का भइसकेको अवस्थामा उनलाई सन् २०२१ को सिजनका लागि पनि रिटेन गर्ने चेन्नइका उपाध्यक्ष तथा इण्डिया सिमेन्टका कार्यकारी निर्देशक श्रीनिभाषनले बताएका हुन्।
'मानिसहरुले धोनीले कति सम्मखेल्ने?, नखेल्ने? आदि विषयमा भनिरहेका छन्। मलाई लाग्छ उनले यो वर्ष पनि चेन्नइबाट खेल्छन्। आगामी वर्ष उनी अक्सनमा जान्छन्। उनलाई हामी रिटेन गर्छौं। यसमा कुनै शंका छैन,' उनले भने।
३८ वर्षीय धोनी २०१९ को ५० ओभरको विश्वकप खेलेपछि भारतको राष्ट्रिय टिममा छैनन्।
उनले आगामी वर्षको अन्त्यमा हुने टी-२० विश्वकप भने खेल्ने सम्भावना छ। किनकी भारतका प्रशिक्षक रवि शास्त्रीले आइपिएलमा गरेको प्रदर्शनका आधारमा धोनीको भविष्य निर्धारण हुने बताका छन्।
भारतीय टिममा धोनीको स्थान रिशव पन्तले लिइरहेका छन्। तर उनले एकैनासको खेल देखाउन सकेका छैनन्।
पछिल्लो समय धोनीले भारतीय क्रिकेट बोर्डको केन्द्रीय सम्झौता पनि गुमाएका थिए।
धोनीले भारतले सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा कप्तानी गरेका थिए। यस्तै उनकै कप्तानीमा भारतले २०१३ को च्याम्पियन्स ट्रफी पनि जितेको थियो।
सन् २००८ देखि आइपिएल टिम चेन्नईको कप्तानी गरिरहेका उनले टिमलाई तीन पटक च्याम्पियन बनाएका छन्।