क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।
शुक्रबार पोखराको सांग्रिला भिलेजमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिगमा सहभागी ६ वटै टिमका मार्की खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो।
यता मंसिर २८ गते हुने भनिएको उद्घाटन खेल वर्षाका कारण प्रभावित हुने भएको छ।
सवै टिमहरुको सहमतिमा अब लिगका खेल २९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।
जसअनुसार खेलहरु पहिलेको तालिका भन्दा एक दिन सर्नेछन्।
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ।
जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज छन्।