भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरस्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेले।
टियु मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो।
विश्व क्रिकेटका कीर्तिमानधारी खेलाडी सचिनको खेल हेर्न सयौं पारखी कीर्तिपुर पुगेका थिए। ती मध्येका एक थिए– प्रेमबहादुर खड्का।
उनी नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काका हजुरबुवा हुन्।
अतिथिको रूपमा क्रिकेट हेर्न टियु मैदान पुगेका प्रेमबहादुरले मैत्रीपूर्ण खेल सकिएपछि सचिनलाई पछ्याए।

केही व्यक्तिले उनलाई पारसको हजुरबुवा भनेर चिनाइदिए। त्यसपछि सचिनले प्रेमबहादुरसँग पोज दिएर केही तस्बिर खिचे।
प्रेमबहादुर शनिबारमात्र टियु मैदान पुगेका होइनन्। उनी नेपालमा आयोजना हुने क्रिकेट खेल हेर्न प्राय: मैदानमै पुग्ने गरेका छन्।
उनी नेपाली क्रिकेट टिमले विदेशबाट सफलता हात पारेर फर्कंदा स्वागत गर्न विमानस्थालमै पुग्ने गर्छन्।
यसअघि नेपालले एकदिवसीय मान्यता पाएर फर्कंदा पनि उनी विमानस्थल पुगेका थिए। त्यतिबेला प्रेमबहादुरले क्रिकेटमा नेपालले पाएको सफलताले आफू नाति (पारस) जत्तिकै खुसी भएको बताएका थिए।
