वेस्ट इन्डिज भ्रमणका लागि भारतको राष्ट्रिय टिम घोषणा गरिएको छ। टेस्ट, एकदिवसीय र टी-२० सिरिजका लागि भारतले छुट्टाछुट्टै टिम घोषणा गरेको हो।
टिममा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी छैनन्। धोनीले यसअघि नै क्रिकेटबाट २ महिनाको छुट्टी लिने जनाकारी दिएका थिए। धोनीले २ महिनाको समय आफू मानार्थ लेफ्टिनेट कर्नेल रहेको प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टमा बिताउनेछन्।
अगस्ट ३ देखि सुरू हुने वेस्ट इन्डिज भ्रमणका लागि विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साह टेस्ट टिममा फर्किएका छन्।
यस्तै अर्का विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि टिममा छन्। रिशव एकदिवसीय विश्वकपको दौरान ओपनर शिखर धवन घाइते भएपछि टिममा समावेश भएका थिए। अहिले धवन टिममा फर्किएको अवस्थामा रिशवले अब धोनीको स्थानमा विकेटकिपिङ गर्नेछन्।
यस्तै तीव्र गतिका बलर जसप्रित बुम्रालाई आराम दिइएको छ। उनलाई टी-२० र एकदिवसीय खेलमा आराम दिए पनि टेस्ट टिममा भने राखिएको छ। अलराउन्डर हार्दिक पाण्ड्यालाई पनि भारतले आराम दिएको छ।
स्पिनर रविचन्द्र आस्विन टेस्ट टिममा फर्किएका छन्। यसअघि उनले अस्ट्रेलियाविरुद्द्धको टेस्ट गुमाएका थिए।
एकदिवसीय र टी-२० खेलमा तीव्र गतिका बलर नवदीप शैनी टिममा परेका छन्। टी-२० मा अर्का तीव्र बलर दीपक चाहरलेले स्थान बनाएका छन्।
एकदिवसीय टिममा मनिष पाण्डे, श्रेयस इयर र खलिल अहमेद फर्किएका छन्।
दिनेश कार्तिक र घाइते विजय शंकर टिममा छैनन्।
भारतले वेस्ट इन्डिजसँग ३ टी-२०, ३ एकदिवसीय र २ टेस्ट खेल्नेछ।
टेस्ट टिम : विराट कोहली (कप्तान), अजिन्का राहाणे, मयंक अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रोहित शर्मा, रिशव पन्त, ऋद्धिमान साह, रविचन्द्रन आस्विन, रवीन्द्र जडेजा, कुलदिप यादव, इशान्त शर्मा, मोहमद सामी, जसप्रित बुम्रा, उमेश यादव
एकदिवसीय टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रेयर इयर, मनिष पाण्डे, रिशव पन्त, रवीन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चाहल, केदार जादव, मोहमद सामी, भुनवेश्वर कुमार, खलील अहमेद, नवदीप शैनी
टी-२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रेयर इयर, मनिष पाण्डे, रिशव पन्त, क्रुनाल पाण्ड्या, रवीन्द्र जडेजा, विसिङ्टन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमेद, दीपक चाहर, नवदीप शैनी