यस संस्करणको विश्वकप क्रिकेटको उपाधिमा इङ्ल्याण्डले बाउण्ड्री गणनाका आधारमा कब्जा जमायो। निर्धारित ५० ओभर र सुपर ओभरको खेल बराबरीमा टुङ्गिएपछि विश्वकप क्रिकेटको नयाँ विजेता बाउण्ड्रीबाट घोषणा गरियो।
यसरी विजेता छनौट गरिएको संसारभरबाट आलोचनासमेत भयो।
यसैबीच उप-विजेता टोली न्युजिल्याण्डका कप्तान केन विलियम्सनले नयाँ खुलासा गरेका छन्।
यस म्याचको अन्तिम ओभरमा इङ्ल्याण्डलाई ओभर थ्रोबाट ६ रन दिइयो। यसको पनि आलोचना भयो। नियम अनुसार यस बलमा इङ्ल्याण्डलाई ५ रन मात्र दिनुपर्ने थियो। यसै घटनामा विलियम्सनले नयाँ खुलासा गरेका हुन्। उनले आफूलाई यस ओभर थ्रो नियमका बारेमा जानकार नभएको खुलासा गरेका हुन्।
यसरी चर्चामा आयो यो विवाद
खेल सकिएपछि जताततै बाउण्ड्रीको गणनाको चर्चा चलिरहेको थियो। यसैबीच अस्ट्रेलियाका पूर्व अम्पायर साइमन ट्राफेलले अन्तिम ओभरको चौथो बलमा भएको 'ओभर थ्रो'मा इङ्ल्याण्डले पाँच रन मात्र पाउनुपर्थ्यो भनेपछि यो घटना विवादित बनेको हो। साइमनले दौडेर लिइएको दोश्रो रनलाई मान्यता दिन नसकिने उनको भनाइ थियो। यो खबर सार्वजनिक भएसँगै यसले लामो बहस जन्मायो। त्यसपछि अम्पायरहरूबाट किन यस्तो चुक भयो भन्दै उनीहरूमाथि प्रश्नहरू सोझाइयो।
विवादबारेमा यस्तो भने विलियम्सनले
विलियम्सनले दुई दिनपछि यस नियमबारेमा आफूलाई थाहा नभएको खुलासा गरे।
'वास्तवमा मलाई त्यतिबेला त्यो नियमको बारेमा जानकारी थिएन। स्वभाविकरूपमा त्यो समय तपाईं अम्पायरले जेमा विश्वास गर्छन् त्यसैमा विश्वास गर्नुहुन्छ। तर अब मेरा लागि यो कुरा पनि यस्तो भएको भए भन्नेमा मात्र आउँछ', उनले भने 'नियम त नियम हो। इङ्ल्याण्डसहित हामी सबै त्यसै हिसाबले खेल्ने कोशिश गर्छौं । हामीलाई हामीले नै उपाधि जित्छौं जस्तो लागेको थियो तर त्यस्तो हुन सकेन।'
के हो ओभर थ्रो विवाद?
जब ओभर थ्रो रन हुन्छ तब अम्पायरले त्यसरी दौडिएर लिएको रन जोड्ने कि नजोड्ने तय गर्छ। नियम अनुसार यदि ब्याट्स्म्यानहरूले फिल्डरको हातबाट बल छुट्नुअघि नै एकअर्कालाई क्रस गरेको खण्डमा ओभर थ्रो अन्तरगत रन जोड्न मिल्छ। विश्वकप फाइनलमा भने अम्पायरले यो दुबै चिज भयो की भएन भनेर छुट्याउन सकेनन्।
गुप्टिलले बल फ्याँके तर अम्पायरले स्टोकस्ट र आदिल राशिदले गुप्टिलको हातबाट बल छुट्नुअघि नै क्रस भएको ठाने र ६ रन दिए। अम्पायरहरूले नदेखेपनि धेरैले इङ्ल्याण्डले यस ओभरमा ५ रन भन्दा बढि पाउन नहुने तर्क गर्दै आएका छन्।
यदि सो बलमा पाँच रन भएको भए यसपटकको विश्वकपको उपाधि न्युजिल्याण्डले उचाल्थ्यो। विलियम्सनले मैदानमा हुँदा आफूलै यहि नियमको बारेमा थाहा नभएको बताएका हुन्।