निर्धारित ५० ओभर र सुपर ओभरमा ईङ्ल्याण्ड र न्युजिल्याण्डले बराबरी गरे। त्यसपछि ‘बाउण्ड्री’बाट विश्वकप विजेताको टुङ्गो लाग्यो। इङ्ल्याण्डले घरेलु मैदानमा पहिलो पटक विश्वकपको उपाधि उचाल्यो।
यसरी विजेता चुनिएको विवाद पनि भइरहेको छ। यस्तो धेरैलाई प्रश्न उठ्न सक्छ बाउण्ड्रीमा पनि बराबरी भएको भए विजेता कसरी चुनिन्थ्यो होला?
यस्तो छ आईसिसीको नियम
यदि कुनै पनि क्रिकेट खेल निर्धारित ओभरमा बराबरी पुगेर टुङ्गिन्छ भने सो खेल सुपर ओभरमा प्रवेश गर्छ। सुपर ओभरमा अधिक्तम ३ खेलाडीले ब्याटिङ गर्न पाउँछन्। यस ओभरमा पहिले ब्याटिङको मौका दोश्रो पारीमा फिल्डिङ गरेको टोलीले पाउँछ। यस ओभरमा दुई विकेट झरेपछि ब्याटिङ गर्ने टोलीको सुपर ओभर समाप्त हुन्छ। यसमा फिल्डिङको नियम ५० ओभरको खेलमा जे हो त्यही हुन्छ भने दुबै टोलीले १-१ रिभ्यू लिन पाउँछन्। अन्तिममा जुन टोलीले सुपर ओभरमा धेरै रन बनाउँछ, खेल उसैले जित्छ।
यसमा पनि बराबरी भएपछि बाउण्ड्रीबाट विजेताको टुङ्गो लगाइन्छ। यस क्रममा ५० ओभरको खेल र सुपर ओभरमा दुबै टोलीले बनाएको बाउण्ड्री(चौका र छक्का) गनिन्छ, जसको धेरै हुन्छ, त्यही टोलीले सो खेल जित्छ। इङ्ल्याण्ड र न्युजिल्याण्डको फाइनल खेलमा यहि नियमबाट ईङ्ल्याण्डलाई नयाँ विश्वकप विजेता घोषित गरिएको हो।
यस खेलमा इङ्ल्याण्डले २६ वटा बाउन्ड्री हानेको थियो भने न्युजिल्याण्डको बाउण्ड्री संख्या १७ थियो।
यदि बाउणड्री पनि उत्तिनै भएको भए?
यहाँ पनि आइसिसीले एउटा अर्को विकल्प दिएको छ। यदि यसमा कुल बाउण्ड्री बराबर भएमा सुपर ओभरमा लगाइएको बाउण्ड्रीलाई नगनी मुख्य खेलमा बनाइएको बाउण्ड्रीबाट विजेताको टुङ्गो लगाइन्छ। जस्तो कि क्रिकेट विश्वकपको पाइनलमा निर्धारित ओभरमा इङ्ल्याण्ड २४ र न्युजिल्याण्डको १६ बाउण्ड्री थियो। यस आधारमा इङ्ल्याण्डलाई विजेता घोषणा गरिन्थ्यो।
सबै परिस्थितिमा बाउण्ड्री बराबरी हुँदा?
यसमा विजेताको टुङ्गो फेरि सुपर ओभरबाट लगाइन्छ।नियम अनुसार सबैभन्दा पहिले सुपर ओभरको अन्तिम बलबाट हेरिन्छ। अन्तिम बलमा जसले धेरै रन बनाएको छ, विजेता सोही टोली बन्छ। यसमा पनि बराबरी भएको छ भने क्रमशः पाँचौ , चौथो, तेश्रो, दोश्रो तथा पहिलो बल हानेर बनाइएको रनका आधारमा विजेता तोकिन्छ। तर यसमा पनि बराबरी भएमा के गर्ने भन्ने बारेमा आईसिसीको नियममा केहि स्पष्ट प्रावधान छैन।