इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासन रोएलाई ३० प्रतिशत म्याच फि र २ डिमेरिट अंक जरिवाना गरिएको छ।
बिहीबार आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा अम्पायरले गलत निर्णय गरेको भन्दै रोएले विरोध जनाएका थिए।
अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाएर खेलिरहेका रोएलाई अम्पायर कुमार धर्मसेनाले आउट दिएका थिए।
अस्ट्रेलियाका तीव्र गतिका बलर पाट कमिङ्ग्सको सर्ट बलमा रन प्रहार गर्न खोजेका रोएले मिस गरेका थिए। भिडियो रिभ्यूमा ब्याटले बलमा नलागेको स्पष्ट देखिएको थियो।
रोएले मिस गरेको बल अस्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारीले क्याच गरेका थिए। क्याचपछि क्यारी र केहि फिल्डरले आउटको अपिल गरेका थिए। त्यो अपिलमा धर्मसेनाले औला उठाएपछि रोए स्तब्ध बने।
त्यतिबेला इंग्ल्यान्डले रिभ्यू गुमाइसकेको थियो। त्यसैले रोएलाई मैदान छाड्नुको विकल्प थिएन। सुरुमा त रोएले अम्पायरसँग विवाद गरे। अर्का अनफिल्ड अम्पायर मराइस इरामसले रोएलाई सम्झाएर बाहिर पठाएका थिए। मैदान छाडिरहदा रोए खुसी थिएनन्। भतभताउँदै ड्रेसिङ रुममा गएका उनले पञ्जा फ्याँकेका थिए।
रोएले खेलमा ६५ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८५ रन प्रहार गरेका थिए। उनकै ब्याटिङको मद्दतमा इंग्ल्यान्ड जित नजिक पुगेको थियो। रोए आउट भएपछि जोए रुट र इयान मोर्गानले लक्ष्य पूरा गरेका थिए। ८ विकेटको जित निकालेसँगै इंग्ल्यान्ड चौथो पटक फाइनलमा पुग्यो। इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक फाइनलमा पुगेको हो।
मैदान छाड्न अस्वीकार गरेका रोएमाथि एक खेलको प्रतिबन्ध पनि हुन सक्थ्यो। तर म्याच फि मात्र जरिवाना हुँदा इंग्लिस टिम खुसी छ। किनकी रोए इंग्ल्यान्डका महत्वपूर्ण ब्याट्सम्यान हुन्। उनीबाट इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको फाइनलमा पनि भरोसा गरेको छ। रोएले जारी विश्वकपमा ६ खेलमा ४४२ रन जोडिसकेका छन्।