बुधबार विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भयो। पराजयसँगै लड्समा भारतको विश्वकप ट्रफी जित्ने सपना तुहियो। अत्यन्त रोमाञ्चक बनेको हिजोको खेलमा भारतले एकदमै खराब सुरूवात गर्यो। उसले आफ्ना स्टार ब्याटस्म्यानहरू केएएल राहुल, रोहित शर्मा तथा कप्तान विराट कोहलीलाई मात्र १-१ रनको व्यक्तिगत स्कोरमा गुमायो।
न्युजिल्याण्डका बलरहरूले भारतको सुरूवाती ब्याटिङलाई ध्वस्त पारेर २४० रनको लक्ष्यलाई पूरा गर्न दिएनन्। खेल हारेपछि भारतीय कप्तान विराट कोहलीले ४५ मिनेटको खराब प्रदर्शनले सबैको सपना टुटाइदिएको प्रतिक्रिया दिएका छन्।
विराटले न्युजिल्याण्डका बलरहरूले दबाबको अवस्थामा पनि उत्कृष्ट खेल देखाएको भन्दै प्रशंसा गरे।
'जब तपाईं कुनै प्रतियोगितामा शानदार प्रदर्शन गरिरहनुभएको अवस्थामा मात्र ४५ मिनेटको खराब प्रदर्शन तपाईंमाथि महँगो पर्छ तब नराम्रो लाग्नु स्वभाविक हो। यो हार पचाउन मुश्किल छ, तर न्युजिल्याण्ड जितको हकदार हो। उनीहरूले राम्रो खेले', उनले भने।
विराटले यस्तो खेलको सुरूवाती समयलाई संकेत गर्दै भनेका हुन। भारतले पहिलो १० ओभरभित्र महत्वपूर्ण ४ विकेट गुमाएको थियो।
त्यसैगरी विराटले न्युजिल्याण्डका बलरहरूले सुरूवाती स्पेलमा सटीक बलिङ गरेको बताए।
'रोहित शर्मा राम्रो बलमा आउट भए। म जुन बलमा आउट भएँ त्यो बल पनि राम्रो हानिएको थियो। सुरूमा विकेट झरेपछि टोलीमाथि दबाब पर्यो र न्युजिल्याण्डका बलरहरूले यसको भरपुर फाइदा उठाए', कोहलीले भने।
त्यसैगरी उनले हार्दिक पाँड्याको शट र महेन्द्र सिंह धोनीको धिमा ब्याटिङको बचाउ गरे।
'पाँड्या आक्रमक खेलाडी हो, दबाबमा राम्रो खेल्दै ऋषभ पंतसँग राम्रो साझेदारी गरे। त्यसपछि उनी एकपछि अर्को गर्दै शट हान्दै गर्दा आउट भए। मैदानबाहिरबाट कसैलाई यस्तोउस्तो भन्नु सजिलो हुन्छ। पाँड्याको खेल यस्तै हो', कोहलीको भनाइ थियो।
'जब टोलीले पाँच विकेट गुमाइसकेको हुन्छ तब लामो साझेदारीको आवश्यक्ता पर्छ। एमएस धोनी र रविन्द्र जडेजाले त्यही गरे। जडेजा शट खेल्दै थिए, त्यसैले धोनीले त्यहाँ टिकेर खेल्नु आवश्यक थियो। उनी त्यसैगरी खेल्छन् र खेललाई अन्तिम ओबरसम्म पुर्याउँछन्। दुर्भाग्यवशः उनले त्यसलाई लक्ष्यसम्म पुर्याउन सकेनन्', कोहलीले धोनीको धिमा ब्याटिङको बचाउ गर्दै भने।