भारतका पूर्वक्रिकेट कप्तान महेन्द्रसिंह धोनीको छवि छ, क्याप्टेन कुल।
उनका प्रशंसकमात्र छैनन्, कटु आलोचक पनि छन्। उनका प्रखर आलोचकमा पर्छन्, भारतका पूर्व राष्ट्रिय स्टार ब्याटस्म्यान युवराज सिंहका बाबु- योगराज सिंह।
उनले धेरैपटक धोनीको चर्को आलोचना गरेका छन्। यसपटक फेरि उनी धोनी विरूद्ध खनिए।
'धोनीजस्ता मान्छे सँधै हुनेछैनन्, सँधै फोहोर रहँदैन्', उनले धोनीको आलोचना गर्दै भने।
उनले हालै सन्यास लिएका अम्बाती रायडुलाई सन्यास फिर्ता लिन आग्रह गर्ने क्रममा धोनीमाथि खनिएका हुन्।
गत साता रायडुले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। रायडु यस पटकको विश्वकप टोलीमा परेनन, भारतले उनलाई वैकल्पिक खेलाडीको सूचिमा राख्यो।
खेलका दौरान विजय शंकर र शिखर धवन घाइते भएपछि उनलाई टोलीमा मौका मिल्ने अनुमान गरिएको थियो तर त्यस्तो भएन। उनको सट्टामा ऋषभ पन्त तथा वैकल्पिक खेलाडीमा समेत नरहेका मंयक अग्रावलले मौका पाए। त्यसबाट असन्तुष्ट रायडुले जारी विश्वकपका बीचनै क्रिकेट करियरलाई अलबिदा भने।
त्यसको प्रतिक्रियामा युवराजका बाबु योगराज धोनी विरूद्ध खनिए। खेलाडी चयनमा धोनीको प्रत्यक्ष हस्तक्षेप रहने उनको आरोप छ।
'रायडु, मेरो छोरा। तिमीले हतारमा निर्णय लियौं। सन्यासबाट फर्क र सबैलाई बताइदेउ कि तिमी को हौं?', उनले भने 'रायडुले खेलिराख्नुपर्छ। उसले रणजी, ईरानी तथा दलीप टर्फीमा अविजित शतक, दोहोरो शतक तथा तेहोरो शतक लगाउनुपर्छ। उसमा अझै क्रिकेट बाँकी छ।'
उनले धोनीलाई 'फोहर' भनेर आलोचना गरे पनि अर्का पूर्वकप्तान सौरभ गांगुलीको भने प्रसंसा गरे। उनले युवालाई अवसर दिएको भन्दै गांगुलीको प्रशंसा गरेका हुन्।
गांगुलीपछि योगराजले भारतीय क्रिकेटको कप्तानका रूपमा आफ्ना छोरा युवराजलाई देख्न चाहेका थिए तर पछि सो मौका युवराजको सट्टा धोनीले पाए।
त्यसपछि उनले आफ्नो छोरा कप्तान नभएसम्म उसको ब्याटिङ नहेर्ने प्रण लिएका थिए। उनले धोनीले टोलीमा राजनीति गर्ने गरेको बताउने गरेका छन्।