आइसिसी क्रिकेट विश्वकपअन्तर्गत मंगलबार लन्डनको लर्ड्स मैदानमा क्रिकेटका पुराना प्रतिद्वन्द्वी अस्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल प्रतियोगिताकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको इंग्ल्यान्डले सुरुवाती पाँच मध्ये ४ खेलमा जित हात पारेको थियो। श्रीलंकाविरुद्धको छैटौं खेलमा भने इंग्ल्यान्ड पराजित भयो। प्रतियोगिताको दाबेदार मानिएको इंग्ल्यान्डलाई अस्ट्रेलियाविरुद्धको खेल प्रतियोगिताकै कठिन हुनेछ।
अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन जित हात पार्नु पर्ने अवस्थामा रहेको इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासन रोए मंगलबार उपलब्ध हुनेछैनन्। रोए हामस्ट्रिङ्गको समस्याले टिमबाट बाहिरिएका हुन्।
अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यानले राम्रो खेलिरहेका छन्। अंक तालिकाको दोस्रो स्थानमा रहेको अस्टेरेलियाका बलरले पनि विपक्षीमाथि तीव्र दबाब दिइरहेका छन्।
६ मध्ये ५ खेलमा जित हात पारेको अस्ट्रेलियाका अलराउन्डर मार्कोस स्टोइनिस टिममा फर्कनु सुखद समाचार हो। किनकी पछिल्ला ३ खेलमा अस्ट्रेलियाका मध्यक्रमका ब्याट्सम्यानले प्रभाव देखाउन सकिरहेका छैनन्।
अस्ट्रेलिया र इंग्ल्यान्डबीचको हेड टु हेडमा अस्ट्रेलिया अघि छ।अस्ट्रेलियाले ८१ जित निकाल्दा इंग्ल्यान्ड ६१ खेलमा विजयी भएको छ।
पछिल्लो समय घरेलु टिम इंग्ल्यान्डले पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियामाथि उत्कृष्ट खेल्दै आएको छ। इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पछिल्ला १० मध्ये ९ खेलमा जित हात पारेको छ।
मंगलबार लर्ड्स मैदानमा वर्षा हुने पूर्मानुमान गरिएको छ। जसका कारण खेल ढिला सुरु हुन सक्ने सम्भावना छ। यो मैदानमा खेलिएका पछिल्ला ४ मध्ये ३ खेलमा पहिले ब्याटिङ गर्ने टिमले जितेको छ। त्यसैले खेलमा टस महत्वपूर्ण हुनेछ।