आइसिसी क्रिकेट विश्वकप २०१९ मा भारतविरुद्धको पछिल्लो खेलमा अफगानिस्तानको प्रदर्शन प्रशंसनीय थियो।अन्तिम ओभरमा जित नजिक पुगेको अफगानिस्तानको भारतलाई हराउने धोको भने पूरा हुन सकेन।
लगातार ६ खेलमा पराजित भएरप्रतियोगिताबाट बाहिरिसकेको अफगानिस्तान पहिलो जितको खोजीमा छ। यस्तो अवस्थामा अफगानिस्तानले सोमबार बंगलादेशविरुद्ध खेल्दैछ।
साउथह्याम्टमा हुने खेल बंगलादेशका लागि महत्वपूर्ण छ। बंगलादेशले अफगानिस्तानलाई हराउन सके सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।
बंगलादेशको बलियो पक्ष तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका सकिब अल हसन उच्च फर्ममा हुनु हो। उनकै उच्च प्रदर्शनमा वेस्ट इन्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१.३ ओभरमा पार गरेको थियो।
पाँच पटकको विजेता अस्ट्रेलियासँग पनि बंगलादेशले उत्कृष्ट खेल्यो। पराजित भए पनि अस्ट्रेलियाले दिएको ३८२ को लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ३३३/८ रन जोडेको थियो।
बंगलादेशले सुधार गर्नु पक्ष बलिङमा देखिएको छ। पछिल्ला तीन खेलमा बंगलादेशले ३२० रन भन्दा बढी दिएको छ।
आइतबार भारतसँग ११ रनले पराजित भए पनि अफगानिस्तानको खेलको चर्चा भइरहेको छ। भारतविरुद्धको प्रदर्शन दोहोर्याउन सके अफगानिस्तानले जारी विश्वकपमा पहिलो जित निकाल्न सक्छ।
अफगानिस्तानले आफ्ना बलरलाई विश्वास गर्न सक्छ। खासगरी स्पिनरले बंगलादेशका ब्याट्सम्यानलाई रोक्न सके अफगानिस्तानको जित निकाल्ने लक्ष्य पूरा हुन सक्छ।
सोमबार साउथह्याम्टनको आकासमा आंसिक बादल लाग्ने पूर्वानुमान छ।