कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ। पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको हो।
प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो। सुदूरपश्चिमले १६.१ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गर्दै जितका लागि योगदान दिइन्। २५ बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन् । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निशा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन्।
प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले ३–३ विकेट लिए । १ रन १ रनको लक्ष्य पाएको प्रदेश नम्बर ५, १६ ओभरमा ५० रनमै अलआउट हुन पुग्यो । प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान २–२ विकेट लिए। प्लेयर अफ द म्याच कविता कुँवर घोषित भइन्।