जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय ब्याटसम्यान शिखर धवन चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।
धवनको बायाँ हातको औंलामा चोट लागेको थियो र सो चोट विश्वकपका दौरान ठीक नहुने भएपछि उनी टोली बाहिर पुगेका हुन्। भारतले उनको सट्टा ऋषभ पन्तलाई टोलीमा ल्याएको छ।
विश्वकपबाट बाहिरिएपछि त्यसको पीडा धवनमा देखिएको छ। उनले आफ्ना प्रशंसकहरूलाई एक भिडियोबाट सन्देश दिएका छन्। सो सन्देशमा विश्वकपबाट बाहिरिनुको पीडा स्पष्ट झल्किन्थ्यो।
'म यो बताउँदा भावुक भइरहेको छु, अब म यो विश्वकपको हिस्सा रहिन। दुर्भाग्यवशः मेरो औलाको चोट समयमा ठीक हुनेभएन तर खेल जारी रहनुपर्छ। म मलाई समर्थन तथा माया गर्ने मेरा टोलीका साथी, क्रिकेटप्रेमी तथा पूरा देशबासीप्रति कृतज्ञ छु। जय हिन्द!', ट्वीट गर्दै उनले भनेका छन्।