आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत मंगलबार अफगानिस्तान र घरेलु टिम इंग्ल्यान्डबीच भएको खेलमा रेकर्डको वर्षा भएको छ। इयान मोर्गानले कीर्तिमानी शतक प्रहार गरेको खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनले पराजित गर्यो। खेलमा बनेका १० रेकर्ड यस्ता छन् :
१७- मोर्गानले खेलमा १७ छक्का प्रहार गरे। यससँगै उनी एकदिवसीय खेलको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने। यसअघि रोहित शर्मा, एबी डिभिलियर्स र क्रिस गेलले एकदिवसीय खेलको एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए। २०१५ को विश्वकपमा गेलले जिम्बावेविरुद्ध १६ छक्का प्रहार गरेर विश्वकपको रेकर्ड आफ्नो नाममा लेखाएका थिए।
२५– खेलमा इंग्ल्यान्डले कुल २५ छक्का प्रहार गर्यो। इंग्ल्यान्डले आफ्नै नाममा रहेको एकदिवसीय खेलको एकै इनिङमा बढी छक्का प्रहार गर्ने टिमको रेकर्ड भंग गर्यो। वर्षको सुरुवातमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको खेलमा २४ छक्का प्रहार गरेको थियो।
११- अफगानिस्तानका लेग स्पिनर रासिद खानले खेलमा ११ छक्का दिए। एकदिवसीय खेलमा कुनै पनि बलरले दिएको यो सर्वाधिक छक्का हो।
२२- जारी विश्वकपमा मोर्गानले २२ छक्का प्रहार गरिसकेका छन्। यससँगै उनी विश्वकपमा बढी छक्का प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। मोर्गानले दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई पछि पारेका हुन्। भिलियर्सले गत संस्करणमा २१ छक्का हिर्काएका थिए। विश्वकपका बढी छक्का प्रहार गर्ने रेकर्ड भने वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ। उनले गत संस्करणको विश्वकपमा २६ छक्का प्रहार गरेका छन्।
५७- मोर्गानले ५७ बलमा शतक पूरा गरेका थिए। यो शतक विश्वकपको चौथो छिटो शतक हो। विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड भने आयरल्यान्डका केभिन ओब्राइनको नाममा छ। उनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक हिर्काएका थिए।
२२- मोर्गान इंग्ल्यान्डका लागि विश्वकपमा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। सन् २००७ को विश्वकपको सबै खेलमा गरी इंग्ल्यान्डको पूरा टिमले २२ छक्का हिर्काएको थियो। जारी विश्वकपअघि इंग्ल्यान्डले विश्वकपका ७२ खेलमा १३० छक्का हिर्काएको थियो। अहिले इंग्ल्यान्डले सुरुवाती ५ खेलमा कुल ४७ छक्का प्रहार गरिसकेको छ।
११०- खेलमा अगानिस्तानका लेग स्पिनर रासिद खानले ११० रन दिए। जससँग उनी विश्वकपमा सबैभन्दा बढी रन खाने खेलाडी बने।
१२.२२- रासिदको इंग्ल्यान्डविरुद्ध १२.२२ इकोनोमी रह्यो। जससँगै उनी एकदिवसीय खेलमा ९ वा सो भन्दा बढी ओभर गर्दा सबैभन्दा महँगा बलर बने। यसअघि यो रेकर्ड जिम्बावेका ब्राइन भिट्टोरीको नाममा थियो। उनले न्युजिल्यान्डविरुद्धको खेलमा १०५ रन दिँदा ११.७६ को इकोनोमीमा बलिङ गरेका थिए।
७- मोर्गानले रासिदको बलमा ७ छक्का हिर्काएका थिए। एकदिवसीय खेलमा एक ब्याट्सम्यानले एकै बलरलाई प्रहार गरेको यो सर्वाधिक छक्का हो। यसअघि वेस्ट इन्डिजका जासन होल्डरलाई दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ६ छक्का हिर्काएका थिए।
३९७- इंग्ल्यान्डले विश्वकपमा बनएको सर्वाधिक स्कोर ३९७ हो। यसअघि जारी विश्वकपमै इंग्ल्यान्डले ३८६ रन बनाएको थियो। अफगानिस्तानविरुद्ध इंग्ल्यान्डले बनाएको ३९७-६ विश्वकपको छैटौं सर्वाधिक स्कोर हो। विश्वकपको उच्च स्कोरको रेकर्ड अस्ट्रेलियाको नाममा छ। अस्ट्रेलियाले २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो।