अन्तराष्ट्रिय टि-२० क्रिकेटमा अहिलेसम्मकै न्यून स्कोर बनेको छ। मालीको महिला क्रिकेट टोलीले यो स्कोर बनाएको हो।
अन्तराष्ट्रिय क्रिकेटमा यस्तो भएको यो पहिलो अवसर हो जहाँ कुनै टोली पहिलो पटक दोहोरो अंकको रनस्कोरमा प्रवेश गर्न सकेन।
मालीको महिला क्रिकेट टोलीले मंगलबार टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा कम स्कोर बनाउने टोलीको रेकर्ड आफ्नो नाममा बनाएको हो। रूवान्डाले मालीलाई मात्र ६ रनमा अलआउट गरेको हो। क्रिकइन्फो वेवसाइटका अनुसार यसअघि यो रेकर्ड चीनको पहिलो टोलीको नाममा थियो। उनीहरूले यसै वर्ष जनवरीमा युएई विरूद्ध मात्र १४ रन बनाएका थिए।
यसक्रममा मालीको पारी ९ ओभरसम्म चलेको थियो। मालीले मात्र एक रन ब्याटिङबाट जोडेको थियो भने बाँकी ५ रन अतिरिक्त रनका रूपमा बनेको हो। मालीका लागि सो एकमात्र रन ओपनर मरियम सामाकेले बनाएकी हुन्।
रूवान्डाका लागि जोसियाने न्यारिकुंदिनेजाले एक रन पनि नदिइ ३ विकेट लिएकी थिइन। फास्ट बलर मैरी बिमेनयिमाना र लेग स्पिनर मार्केयुरेटीले समान २-२ विकेट लिए।
सबैभन्दा कम रन स्कोरसँगै यस म्याचमा सर्वाधिक छिटो जितको पनि रेकर्ड बन्यो। मालीबाट बनाइएको मात्र ६ रनको स्कोरलाई रूवान्डाले मात्र ४ बलमा हासिल गर्यो। उनीहरूले सर्वाधिक बल छँदै जित हासिल गरेको रेकर्ड आफ्नो नाममा बनाएका हुन्। रूवान्डाले जित दर्ता गर्दा ११६ बल खेल्न बाँकी नै थियो।