इङ्ल्याण्डमा जारी आईसिसी विश्वकपमा आयोजक इङ्ल्याण्डले अफगानिस्तानलाई १५० रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्याण्डले अफगानिस्तानलाई ३९८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउन आएको अफगानिस्तान ८ विकेटको क्षतिमा २४७ रनमा समेटियो।
अफगानिस्तानका लागि हश्मतुल्ला शाहिदीले सर्वाधिक ७६ रन बनाए। उनले ५ चौका तथा २ छक्का प्रहार गरेका थिए। यस्तै रहमत शाहले ४६, अशगर अफ्गानले ४४, गुलबदिन नैबले ३७ रन बनाए।
यसक्रममा इङ्ल्याण्डका लागि आदिल रशिद र जोफ्रा आर्चरले समान ३-३ विकेट लिए भने मार्क वुडले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गर्दै इङ्ल्याण्डले ३९७ रन बनायो। उसको यस पारीमा कप्तान इयोब मोर्गनले कीर्तिमानी इनिङ खेले। उनले ७१ बलमा १४८ रनको योगदान दिए। यसक्रममा उनले १७ छक्का प्रहार गरेका थिए। १७ छक्का प्रहार गर्दै उनले एकै पारीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।
यस्तै, ओपनर जेम्स भिन्स २६ रनमा आउट हुँदा जोनी बेस्ट्रले ९९ बल खेलेर ९० रनको योगदान दिए। जोए रुटले ८२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ८८ रन जोड्दा मोइन अलीले ९ बलमा नटआउट ३१ रन जोडे। अलीले १ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा अफगानिस्तानका दाउलात जार्डान र गुब्लादिन नइबले ३-३ विकेट लिए। खेलमा ११० दिएका रासिद खान विश्वकपमा सबैभन्दा बढी रन दिने बलर बने।
जितसँगै इङ्ल्याण्ड ८ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले कुल ५ खेलमा ४ मा जित र एकमा हार बेहोर्दै उक्त अंक बटुलेको हो।
त्यस्तै अफगानिस्तानले भने पाँचमा पाँदै खेल हारेर अंकबिहिन हुँदै तालिकाको पुछारमा छ।