वेस्ट इन्डिज र बंगलादेशले आइसिसी क्रिकेट विश्वकप २०१९ मा उत्कृष्ट सुरुवात गरेका थिए। पहिलो खेलमा शानदार जितपछि भने दुवै टिमको प्रदर्शन खस्कियो।
दुवै टिमले अहिलेसम्म १-१ जित हात पारेका छन्। ४ खेल खेलेको वेस्ट इन्डिज ३ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने समान खेलबाट ३ अंक नै जोडेको बंगलादेश आठौं स्थानमा छ।
यस्तो अवस्थामा सोमबार दिउँसो वेस्ट इन्डिज र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। दुवैलाई सेमिफाइनलमा पुग्न जित आजको खेलमा आवश्यक छ।
विस्फोटक ब्याट्सम्यान हुनु वेस्ट इन्डिजको बलियो पक्ष हो। तर पछिल्ला खेलमा ब्याट्सम्यानले गलत सर्ट खेलिरहेका छन्। गलत सर्ट खेल्दाको घाटा वेस्ट इन्डिजले बेहोरिरहेको छ।
इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिज ३०औं ओभरसम्म १४४/३ को अवस्थामा थियो। तर ४५ औं ओभरमा अलआउट भएको वेस्ट इन्डिजले २१२ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका आक्रामक अलराउन्डर आन्द्र रसेल पूर्ण फिट छैनन्। अर्का बलर सेलडम कोट्रेल पनि मैदान फर्कन संघर्षरत छन्।
बंगलादेशका लागि जारी प्रतियोगितामा सकिब अल हसनले उत्कृष्ट खेलिरहेका छन्। उनी तेस्रो नम्बरको ब्याटिङमा जमेका छन्। बलिङमा पनि उनको लय राम्रो छन्। इंग्ल्यान्डविरुद्ध सकिबले विकेट लिने अवसर सिर्जना गरेका थिए। यद्धपी सो खेलमा इंग्ल्यान्डले ३८६/६ बनायो। सकिब बाहेक अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक छैन्।
सुरुवाती खेलमा जित हात पारेका दुबै टिमका लागि सोमबारको खेल सेमिफाइनल पुग्नका लागि 'गर या मर'को परिस्थिति हो। त्यसैले दुवै टिम पुनरागमनको आशासहित मैदान उत्रिनेछन्।
वेस्ट इन्डिज : जासन होल्डर (कप्तान), फाबियन एलेन, डारेन ब्राभो, सानन ग्राबियल, सिमरोन हेटमयर, इभिन लेविस, निकोलास पूरान, आन्द्रे रसेल, कार्लोस बाथवेट, सेलडम कोट्रेल, क्रिस गेल, शाइ होप, एस्ले नर्स, केमार रोच र ओसन थोमस।
बंगलादेश : मास्रफी मोर्ताजा (कप्तान), अबु जायेद, लिन्टन दास, मोहमुदुल्लाह, मेहदी हसन, मोहमद मिथुन, मोहमद सइफुदिन, मोसाडक हुसेन, मुस्फिकर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सब्बिर रहमान, सकिब अल हसन, सौम्य सरकार र तमिम एकबाल।