विश्वकप क्रिकेटमा भारतले आइतबार भएको खेलमा पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ।
ओल्ड ट्रफोर्डमा भएको खेलमा भारतले विश्वकपमा पाकिस्तानलाई सातौं पटक पराजित गरेको हो। सन् १९९२ यता भएका सात भेटमा सातै पटकको नतिजा भारतको पक्षमा रहँदै आएको छ।
हिजोको खेलमा पहिले ब्याटिङ गर्दै भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउन आएको पाकिस्तानले ३५ ओबरमा ६ विकेटको नोक्सानीमा १६६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि ४० ओभरमा घटाइएको खेलमा निर्धारित नयाँ लक्ष्य भेट्टाउन नसकेपछि ऊ पराजित भएको हो।
जितका लागि उसले ५ ओभरमा १३६ रन बनाउनुपर्ने भएको थियो। सो लक्ष्य पाकिस्तानले भेट्टाउन सकेन र खेल डीएल मेथडमा भारतले ८९ रनले जित्यो।
हिजोको खेलमा पाकिस्तानको समस्या फेरि ब्याटिङमा नै देखियो। २३ ओभरको समाप्तीमा ११७ रनमा दुई विकेट गुमाएको पाकिस्तानले त्यसपछि मोहम्मद हाफिज ,सरफराज अहमद तथा शोएब मलिकलाई सस्तैमा गुमायो।
यी विकेटहरूको पतनले पहिलोपटक भारतलाई विश्वकपमा जित्ने पाकिस्तानको सपनलाई सपनामै सिमित तुल्याइदियो।
पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बाबर आजमले ४८ रनको योगदान दिए।। यसैगरी इमाद वासिमले नटआउट ४६ रन बनाए। उनीहरू बाहेक पाकिस्तानका अन्य कुने पनि ब्याट्सम्यानले २० रनभन्दा माथि रन जोड्न सकेनन्।
भारतका लागि भीजे शंकर, हार्दिक पांड्या तथा कुलदिप यादवले समान २-२ विकेट लिए।
त्यसअघि म्यानचेस्टरमा टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन जोड्यो।
भारतका लागि ओपनर रोहित शर्माले सतक प्रहार गरे। उनले ११३ बलमा १४० रनको योगदान दिए। रोहितले आफ्नो इनिङमा १४ चौका र ३ छक्का हिर्काए।
अर्का ओपनर लोकेश राहुलले ५७ रन बटुले। नियमित ओपनर शिखर धवन घाइते भएपछि ओपनिङमा मौका पाएका राहुलले ७८ बलमा ३ चौका र २ छक्का हिर्काए।
रोहित र राहुलबीच पहिलो विकेटको लागि २३।५ ओभरमा १३६ रनको साझेदारी भएपछि भारतको उत्कृष्ट ओपनिङ भएको थियो।
कप्तान विराट कोहलीले ७७ रनको योगदान दिए। उनले ६५ बलमा ७ चौका हिर्काए। यससँगै कोहलीले एकदिवसीय खेलमा छिटो ११ हजार रन पूरा गर्ने रेकर्ड बनाए।
हार्दिक पाण्ड्याले १९ बलमा २६ रन जोड्दा महेन्द्रसिंह धोनीले १ रन मात्र जोड्न सके। केदार जादव ९ र विजय शंकर १५ रनमा अविजित रहे। बलिङमा पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए। वाहेब रिजय र हसन अलीले १-१ विकेट हात पारे।
जितसँगै भारतले अंक तालिकामा ७ अंक जोड्दै तेश्रो स्थानमा कायमै रहेको छ। न्यूजिल्याण्डको पनि समान ७ अंक भएपनि नेट रनरेटका आधारमा न्यूजिल्याण्ड दोश्रो स्थानमा पुगेको हो।
त्यसैगरी ५ खेलमा १ मा बराबरी ३ मा हार तथा १ खेलमा जित हात पारेको पाकिस्तान भने अंकतालिकाको ९ औं स्थानमा रहेको छ।