सोमबार भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे।
उनले भारतका लागि अन्तिमपटक सन् २०१७ मा एक दिवसीय तथा टि-२० खेलेका थिए। यसको अलावा यस वर्ष उनले मुम्बई इण्डियन्सका लागि आईपिएल खेले। धेरै खेलाडी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि आईपिएल जस्ता लीगबाट पर हुँदैनन तर युवराजले भन यस्ता प्रतियोगिता पनि नखेल्ने भएका छन्।
सन् २०१५ मा सर्वाधिक १६ करोड रूपैयाँ रकममा किनिएका युवराज यस सत्रमा भने १ करोडको आधार मूल्यमा बिकेका थिए। उनले आईपिएलबाट पर हुने कुरा गत वर्ष नै बताएका थिए।
'अघिल्लो वर्ष नै मैले यो वर्षको आईपिएल मेरा लागि अन्तिम हुने सोचिसकेको थिएँ। म अब आईपिएलका लागि उपलब्ध हुँदिन। मैले बिसिसीआई र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको छु। म भारत बाहिर खेल्न उत्सुक छु', उनले भने।
उनले बिसिसीआईबाट अनुमति भएको खण्डमा बाहिरी देशका घरेलु लिगका टि-२० खेल्ने इच्छा व्यक्त गरेका छन्।
'म टि-२० क्रिकेट खेल्न चाहन्छु। म यस खेलको मजा लिन चाहन्छु। म आफ्नो जीवनको मज्जा लिन चाहन्छु। अन्तराष्ट्रिय क्रिकेटको बारेमा सोच्नु, प्रदर्शन गर्नु र आईपिएलजस्ता प्रतियोगिता खेल्नु धेरै तनावपूर्ण हुन्छ', उनले भने।
युवराज सिंहले कहाँ खेल्ने बारेमा केहि स्पष्ट नपारे पनि उनले अस्ट्रेलियाको बिग ब्यास लिगका अलावा वेस्ट इण्डिज, दक्षिण अफ्रिका जस्ता देशका घरेलु टि-२० खेल्ने सम्भावना छ। उनलाई नेदरल्याण्डसबाट लिग खेल्ने प्रस्ताव आएको बताइन्छ। यी देशमा खेल्न उनलाई बिसिसीआईले अनुमति दिनुपर्छ।
सन्यास घोषणा कार्यक्रममा उनले आफू यसको हकदार भएकाले बिसिसीआईले अनुमति दिने आशा राखेको बताए।