रोमाञ्चक प्रतिष्पर्धामा वेस्ट इण्डिजलाई अस्ट्रेलियाले १५ रनले पराजित गरेको छ।
२८९ रनको लक्ष्य पछ्याउन आइएको वेस्ट इण्डिज निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २७३ रनमा समेटिएपछि खेल अस्ट्रेलियाले जितेको हो।
लक्ष्य पछ्याउने क्रममा साई होपले ६८, निकोलस पूरनले ४० तथा ज्यासन होल्डरले ५१ रन जोडे पनि नतिजा उनीहरूको पक्षमा गएन।
उसलाई अस्ट्रेलियाका बलरहरूले सुरूदेखि नै खुलेर खेल्न दिएनन्।
अस्ट्रेलियन बलरहरूले वेस्ट इण्डिजका ब्याट्सम्यानहरू सुरूदेखि नै दबाबमा राखेका थिए। यस खेलमा अस्ट्रेलियाका मिशेल स्टार्कले प्रभावशाली बलिङ गरे।
१० ओभर बलिङ गरेका स्टार्कले १ मेडन ओभर गर्दै ४६ रन खर्चेर पाँच विकेट पतन गराएका थिए। यस क्रममा उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट लिएका थिए।
यसैगरी प्याट कमिन्सले दुई विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए।
बिहिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८८ रनको स्कोर बनाएको थियो।
एकसमय ५ विकेटको नोक्सानीमा अस्ट्रेलिया ७९ रनको कमजोर अवस्थामा पुगेको थियो।
आरोन फिन्च, डेभिड वार्नर, उस्मान ख्वाजा, ग्लेन ,याक्सवेल तथा मार्कस स्टोइनिस सस्तैमा समेटिएपछि अस्ट्रेलियाको स्कोर सम्मानजनक नहुने जस्तो देखिएको थियो। उनीहरूले क्रमशः ६, १३, ० तथा १९ रनको स्कोरमा आउट भएका थिए।
यस अवस्थालाई अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ र विकेटकिपर-ब्याट्स्म्यान एलेक्स केरेले सम्हाले। उनीहरूले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।
केरे ४५ रनमा आउट भए।
त्यसपछि स्मिथले नाथन कौलटरसँग शतकीय साझेदारी गरे। ४५ औं ओभेरमा स्मिथ पनि ७३ रनको स्कोरमा आउट भए। यसक्रममा उनले १०३ बल खेल्दै ७ चौका प्रहार गरेका थिए।
उनी आउट भएपछि कौलटर अस्ट्रेलियालाई सम्मानजनक स्कोरतर्फ लम्काए। ४९ औं ओभरमा आउट हुनुअघि उनले टोलीलाई ९२ रन योगदान दिए। उनले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस खेलमा उनी मात्र ८ रनले पहिलो शतक बनाउनबाट चुके।
वेस्ट इण्डिजका लागि कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट लिए भने ओसेब थोमस, शेल्डन कटरेल तथा आन्द्रे रसेलले समान २-२ विकेट लिए।