जारी विश्वकप क्रिकेटमा सोमबार पाकिस्तानले आयोजक इङ्ल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ।
इङ्ल्याण्ड १४ रनले पराजित भएको रोमाञ्चक खेलमा कुल ६८२ रन बन्यो जसमा पाकिस्तानले निर्धारित ५० ओभर खेल्दै ३४८ रनको विशाल योगफल बनाएको थियो इङ्ल्याण्डले ९ विकेटको क्षतिमा ३३४ रन बनायो।
लक्ष्यका हिसाबले ठूलो योगफल पछ्याउनुपर्ने भएकाले खेल अन्तिमसम्म रोमाञ्चक बन्यो। इङ्ल्याण्डका सुरूवाती ब्याटस्म्यानहरूलाई पाकिस्तानी बलरहरूले सस्तैमा पेभेलियन फर्काइदिएपछि इङ्ल्याण्ड संकटमा पुग्यो।
किनकी लक्ष्य पछ्याउन आएका ओपनर जेसन रोय ८ रनमा आउट भएका थिए भने जोनी बेयरस्टो ३१ रन बनाउँदै आउट भए। त्यसैगरी इयोन मोर्गन र बेन स्टोक्स पनि सस्तैमा समेटिए। उनीहरू दुबै ९९ रनमा आउट भए।
यसले इङ्ल्याण्डलाई २२ ओभरको समाप्तीमा ११८-४ को कमजोर अवस्थामा पुर्यायो।
तर त्यसपछि जोए रूट र जोस बटलरले इङ्ल्याण्डको पारी सम्हाले। उनीहरूले १३० रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाए। रूट आउट भएपछि बटलर र मोइन अलिले पारी सम्हाले। यसक्रममा शतक प्रहर गरे लगत्तै बटलर पनि आउट हुन पुगे। उनले १०३ रन जोडे। उनीहरूको पारीले इङ्ल्याण्डले ठूलो पछ्याउँदै जित आफ्नो पोल्टामा पार्ने लक्षण देखाए। यसले खेललाई रोमाञ्चक बनायो।
ततःपश्चात खेलको ४८ औं ओभरमा पाकिस्तानका वाहब रियाजले लगातार २ विकेट लिए र जित उन्मुख इङ्ल्याण्डको ब्याटिङ धरापमा पारिदिए र खेललाई पाकिस्तानतीर ढल्काए। त्यसपछि इङ्ल्याण्ड खेलमा फर्किन सकेन र पाकिस्तानले जित्यो।
पहिलो खेलमा पाकिस्तान वेस्ट इण्डिजसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। यस जितसँगै पाकिस्तानले पछिल्लो ११ खेलमा बेहोर्दै आएको लगातार हारको श्रृखंलालाई तोडेको छ।
हिजोको खेलमा पाकिस्तानका लागि मोहम्मद हाफिजले सर्वाधिक ८४ रन जोडे भने बाबर आजमले ६३ रन बनाए। यसैगरी सरफराज अहमदले ५५, इमाम उल हकले ४४ तथा फखार जमानले ३६ रनको योगदान दिए।
पाकिस्तानलाई राम्रो सुरूवात दिलाउने क्रममा इमाम र फखारले ८२ रनको साझेदारी गरेका थिए।
यस इनिङमा इङ्ल्याण्डका लागि क्रिस वोक्सले ३ तथा मोइन अलि र मार्क वुडले समान २-२ विकेट लिए।
यसैगरी इङ्ल्याण्डका लागि जोए रूटले सर्वाधिक १०७ रन बनाएका थिए।
पाकिस्तानका लागि वहाव रियाजले सर्वाधिक ३ विकेट लिदां शदाब खान र मोहम्मद आमिरले समान २-२ विकेट लिए। यसैगरी मोहम्मद हफिज र शोयब मलिकले १-१ विकेट लिए।
अब पाकिस्तानले तेश्रो खेल जुन ७ मा श्रीलंकासँग खेल्नेछ भने इङ्ल्याण्डले जुन ८ मा बंगलादेशको सामना गर्नेछ।