भारतीय कप्तान विराट कोहलीले इङ्ल्याण्ड विश्वकप राउण्ड रोविन संरचनाका कारण चुनौतीपूर्ण हुने बताएका छन्। यस संरचनाका कारण पहिलो बलदेखि नै जुझारू हुनु आफ्ना टोलीका लागि महत्वपूर्ण भएको उनको भनाइ छ।
सुरूमा नै ४ कडा प्रतिष्पर्धा भएका कारण यसअघि दुई विश्वकप खेलिसकेका कोहलीले यसपटकको विश्वकपमा आफ्ना लागि आराम समय नभएको बताए।
सन् १९९२ पछि पहिलो पटक यस विश्वकपमा पुनः राउण्डरोविन लागू भएको छ, जसअन्तरगत हरेक टोलीले हरेक टोलीसँग म्याच खेल्नुपर्नेछ। भारतले ९ जुनमा अस्ट्रेलिया, १३ जुनमा न्यीजल्याण्ड तथा १६ जुनमा पाकिस्तानको सामना गर्दैछ।
'यो चुनौतीपूर्ण विश्वकप हुनेछ जसको हिस्सा म छु। टिमहरू बलिया छन् र यसपटक प्रारूप पनि फरक छ। सन् २०१५ को अफगानिस्तान र अहिलेको अफगानिस्तान धेरै फरक भइसकेको छ', कोहलीले भने, 'कुनै पनि टोली कुनै पनि टोलीलाई हराउन सक्छ। त्यसैले हाम्रो ध्यान उत्कृष्ट क्रिकेट खेल्नमा हुनेछ। तपाईंले हरेक म्याचमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्छ किनकी यसमा समूह चरणको जस्तो अवस्था हुँदैन।'
यसैगरी कोहलीले हरेक टोलीसँग हरेक टोलीले खेल्नु राम्रो भएको बताए। उनका अनुसार यो एउटा चुनौती भएकाले हरेक टोलीले सामञ्जस्यता बनाउनुपर्छ।
'यसले हाम्रो लय बन्नेछ। हरेकले आफ्नो उत्कृष्ट दिनुपर्छ र पहिलो खेलदेखि नै बलियो हुनुपर्छ। आत्मरतिको कुनै स्थान हुनेछैन। यसैकारणले यो विश्वकप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भएको छ', उनले भने।
'हामीले मैदानमा छिरेदेखि नै यस्तो दबाब हुने आशा गरिरहेका छौं। पछि दबाबमा हुनेछौं भनेर सोच्ने स्थिति हुनेछैन्। खेलको दिन शतप्रतिशत तयारीका साथ मैदानमा उत्रिनुपर्छ र त्यहीबाट लय बनाउनुपर्छ। यो नै हाम्रो चुनौती हो', कोहलीले भने, 'फुटबल लिगका शीर्ष क्लबलाई हेर्नुस्, चाहे त्यो प्रिमियर लिग वा ला लिगा, ३-४ महिना आफ्नो जुझारूपन बनाइराख्नुपर्छ। हामीले किन गर्न सक्दैनौं? यदि हामीले लय समातेर प्रतियोगिता अवधिभर त्यसलाई कायम राख्नुपर्छ।'
यसैगरी ईङ्ल्याण्ड र पाकिस्तानबीच हालै भएको सिरिजमा ठूलो स्कोर देखिए पनि विश्वकपमा पनि त्यहि हुनसक्छ भनेर भन्न नसकिने उनले बताए।
'पीच एकदमै राम्रो हुनेछ। गर्मीको समय भएकाले परिस्थिति शानदार हुनेछ, हामीले पनि ठूलो स्कोरको अपेक्षा गरिरहेका छौं तर दुईपक्षिय सिरिजको तुलना विश्वकपसँग गर्न सकिदैन। यो फरक छ', उनले भने, ' यसकारण हामीले २६०-२७० स्कोरको आशा गर्न सक्छौं। हामीले विश्वकपमा हर किसिमको परिस्थितिको आशा गर्नसक्छौ।'
यसैगरी उनले बलिङ आक्रमणको चुनौती सामना गर्नका लागि पनि तयार भएको बताए।
'टोलीमा रहेका सबै बलर, आईपिएलमा खेलेकाहरूले पनि ५० ओभरको क्रिकेटका लागि आफूलाई तयार गरिरहेका छन्। तपाईले देख्नुभएकै छ, ४ ओभरपछि पनि कुनै बलर थाकेको देखिएन, सबै ताजा नै थिए। उनीहरूको दिमागमा सुरूदेखि नै ५० ओभरको खेल खेल्नुपर्नेछ भन्ने छ।'