सोमबार पाकिस्तानले इङ्ल्याण्ड विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्यो। इङ्ल्याण्ड भ्रमणका क्रममा राम्रो प्रदर्शन नगरेको भन्दै उसले खेलाडी हेरफेर गरेको छ।
हेरफेरका क्रममा टोली बाहिर पुर्याइएका एक खेलाडीले अनौठो शैलीमा पाकिस्तान क्रिकेट बोर्डको विरोध गरेका छन्। यसरी विरोध गर्ने खेलाडी हुन्- फास्ट बलर जुनैद खान ।
उनै जुनैदले मुखमा कालो पट्टी बाँधेर आफूलाई टोलीबाहिर पुर्याइएकोमा विरोध गरेका छन्।
ट्वीटर पोस्टमा उनले, 'म केहि भन्न चाहन्न। सत्य कडा हुन्छ', लेखेका छन्।
२९ वर्षिय जुनैदले पाकिस्तानाका लागि ७६ वान डे, २२ टेस्ट तथा ९ टी-२० खेलेका छन्। उनले वान डेमा ११०, टेस्टमा ७१ तथा टि-२० मा ८ विकेट लिएका छन्। सन् २०११ बाट अन्तराष्ट्रिय क्रिकेट खेले पनि उनले विश्वकप खेल्ने मौका हाल सम्म पाएका छैनन्।
३० मेबाट सुरू हुने प्रतियोगिताको लागि यस अघि घोषणा गरिएको टोलीमा जुनैद खान, आबिद अली र फहिम अशरफ थिए। ईङल्याणडसँग विश्वकप अघि खेलिएको पाँच एकदिवसीय खेलका आधारमा उनीहरूलाई टोलीबाट बाहिर पठाइएको हो। टोलीमा उनीहरूको सट्टा मोहम्मद आमिर, वहाब रियाह तथा आसिफ अलीलाई राखिएको छ।