इन्डियन प्रिमियर लिग (आइपिएल) को बाह्रौं सिजनको फाइनल आइतबार राति हुँदैछ। हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने ८ बजे सुरू हुने खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दैछन्। महेन्द्रसिंह धोनीले सम्हालेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीच आजको खेलमा एउटा साझा सपना हुनेछ, उपाधि जित्ने त्यो पनि चौथो पटक।
सन् २००८ मा सुरू भएको आइपिएलमा यी दुईमात्र यस्ता टोलीले हुन् जसले समान तीन/तीन पटक उपाधि उचालेका छन्। यो बीचमा धोनीको चेन्नई दुई वर्ष प्रतिबन्धमा पनि परेको थियो।
चेन्नई आइपिएलको यस्तो टोली हो जो खेलेका १० सिजनमध्ये आठ पटक फाइनलमा र हरेक पटक नकआउट चरणमा पुगेको छ। तर चेन्नईले यसअघिका सातमध्ये ४ फाइनलमा हार ब्यहोरेको छ। त्योमध्ये दुई पटक मुम्बईसँग पराजित भएको छ। मुम्बई भने आफ्नो पहिलो फाइनल चेन्नईसँग हारेपछि कुनै पनि फाइनल हारेको छैन।
यो सिजन पनि चेन्नई मुम्बईसँग कमजोर देखिएको छ। लिगका दुई खेल र घरेलु मैदानमै भएको पहिलो क्वालिफायरमा चेन्नई मुम्बईसँग सजिलै पराजित भएको छ। तर क्वालिफायरमा हारको नजिक भएका बेला प्रशिक्षक स्टेफन फ्लेमिङले भनेजस्तो यदि उसले आज फाइनल जित्यो भने त्यो तीन खेलको हारको भरपाई हुनेछ।
फाइनल जितेर पहिलाका हारको भरपाई गर्ने भने चेन्नईलाई सहज छैन। चेन्नईको सबल पक्ष उसको स्पिन बलिङ हो। घरेलु मैदानका खेल र विशाखपटनममा भएको दोस्रो क्वालिफायरमा पनि उसले तीन स्पिनर खेलाएर खेल आफ्नो पक्षमा पारेको थियो। हैदरावादमा भने धोनीका स्पिनरलाई खासै मद्धत मिल्ने छैन। प्राय: खेलमा ब्याट्सम्यानमैत्री पिच बनाएर हैदरावादमा स्पिनरभन्दा तीव्र गतिका बलर धेरै सफल भएका छन्। मध्यम गतिका बलर दीपक चहारले यो सिजनमा राम्रो प्रदर्शन गरे पनि चेन्नईसँग अर्को राम्रो फास्ट बलर छैन। वेस्ट इन्डिजका डोयन ब्राभो पनि गति र स्विङभन्दा गति परिवर्तनबाट धेरै विकेट निकाल्छन्।
उता मुम्बईसँग भने पिचअनुसार खेलाउन मिल्ने बलिङ आक्रमण छ। चेन्नईमा भएको पहिलो क्वालिफायरमा अफ स्पिनर जयन्त यादवलाई उतारेर उसले घरेलु टोलीजस्तै तीन स्पिनर खेलाएको थियो। आजको फाइनलमा यादवको सट्टा बाँयाहाते तेज बलर मिचेल मेक क्लेनेघनलाई खेलाउने विकल्प मुम्बईसँग छ। यसअघि सनराइजर्स हैदरावादमा खेलेका र २०१६ मा उसको उपाधि जितमा म्यान अफ द म्याच बनेका अल राउन्डर बेन कटिङलाई खेलाउने विकल्प पनि मुम्बईलाई हुनेछ।
ब्याटिङमा चेन्नई आफ्नो आइपिएल क्यारिअरमै यसपालि राम्रो प्रदर्शन गरेका कप्तान धोनीमा निर्भर देखिन्छ। यो सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेका सुरेश रैना र विशाखपटनममा दिल्ली क्यापिटल्सविरूद्ध अर्धसतक हानेका ओपनर सेन वाटसन र फाफ डुप्लेसीले धोनीलाई साथ दिनेछन्। चोटका कारण भारतीय टिमका ब्याट्सम्यान केदार जाधव नखेल्ने हुँदा चेन्नईको ब्याटिङ अलिक कमजोर हुनेछ। विश्वकप खेल्ने भारतीय टोलीमा नपरेपछि अम्बाती रायडुको खेल पनि खस्किएको देखिन्छ। ओपनरले राम्रो सुरूआत नगरे मुम्बईले आफ्ना मुख्य बलर जसप्रित बुम्राहलाई धोनीविरूद्ध प्रयोग गरेर चेन्नईलाई थप दबाबमा पार्ने रणनीति बनाउन सक्छ।
मुम्बईका भने केही म्याचमात्र खेलेका इशान किसनबाहेक अरू सबै ब्याट्सम्यान राम्रो फर्ममा छन्। दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डिककले यो सिजनमा ५ सय रन बनाएका छन् भने कप्तान रोहित शर्मा पनि पछिल्ला खेलहरूमा लयमा फर्किएका छन्। चेन्नईसँगको पहिलो क्वालिफायरका म्यान अफ द म्याच सूर्यकुमार यादव पनि आज आत्मविश्वासका साथ मैदानमा उत्रिनेछन्। चेन्नईका लागि सबैभन्दा ठूलो खतरा यो सिजनमा अत्यन्त राम्रो ब्याटिङ फर्ममा रहेका हार्दिक पाण्ड्या हुनेछन्। कलकत्ताबाट खेल्ने वेस्ट इन्डिजका आन्द्रे रसेलपछि हार्दिक यो सिजनमा सबैभन्दा खतरनाक ब्याट्सम्यान दरिएका छन्। पाण्ड्या नचले वेस्ट इन्डिजका काइरन पोलार्ड, हार्दिकका दाजु क्रुनाल र आजको खेल खेले कटिङले मुम्बईको ब्याटिङलाई फिनिसिङ दिनेछन्।
आजको खेलमा फिल्डिङ र खेलाडीको फिटनेस पनि महत्वपूर्ण हुनेछ। हैदरावादको ठूलो मैदानमा बाउन्ड्री हान्न अलिक अप्ठेरो हुने भएकाले ब्याट्सम्यानले दौडेर २-३ रन जोड्न कोशिश गर्नुप र्नेछ। यसरी दौडिन चेन्नईका औसत उमेर ३५ वर्ष भएका ब्याट्सम्यानलाई भन्दा तुलनात्मक रूपमा यूवा मुम्बईका ब्याट्सम्यानलाई केही सजिलो हुनेछ। फिल्डिङ गर्दा पनि २-३ रन रोक्न मुम्बईका फिल्डर छरिता हुनेछन्।
आज बेलुका हैदरावादमा पूर्वानुमान भएझैं वर्षा भए त्यसले दुबै टोलीको फाइनल खेलका लागि बनाएको रणनीति काम लाग्ने छैनन्। खेल सुरू हुनुअघि नै पानी परे त दुबै टोलीले त्यहीअनुसार रणनीति बनाउन पाउनेछन् तर एउटा टोलीको ब्याटिङ सकिन लाग्दा वा सकिएपछि वर्षा भए जवाफी ब्याटिङ गर्नेलाई फाइदा हुनेछ। खेलको सुरूमै पानी परेर कम्ती ओभरमा झारिए पनि दोस्रो ब्याटिङ गर्नेलाई तुलनात्मक फाइदा हुनेछ।
आइपिएल इतिहासमा अहिलेसम्म मुम्बईका रोहित शर्मा, चेन्नईका हरभजन सिंह र अम्बती रायडुका नाममा चौथो उपाधिको कीर्तिमान छ। यी तीनै खेलाडी मुम्बईले जितेका सबै उपाधिमा सँगै थिए। रोहितले मुम्बई आउनुभन्दा अघि डेकन चार्जर्स हैदरावादबाट पहिलो उपाधि जितेका थिए भने हरभजन र रायडु गत सिजन चेन्नईको विजयी टोलीमा थिए।
आजको फाइनल चेन्नईले जिते हरभजन र अम्बतीले पाँच पटक उपाधिको संयुक्त कीर्तिमान बनाउने छन् भने खेल मुम्बईको पक्षमा गए अहिलेसम्म फाइनलमा नहारेका रोहितले सो कीर्तिमान आफ्नो नाममा पार्नेछन्।