कर्णाली प्रिमियर लिग सिजन–२ (केपिएल–२) बिहिबारदेखि सुरू भएको छ ।
बिहिबार भएको उद्घाटन खेलमा झापाको लालिगुराँस क्रिकेट एकेडेमीलाई हराउँदै र घरेलु टोली कर्णाली–११ विजयी भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालिञ्चोक किक्रेट मैदानमा भएको खेलमा लालिगुराँसलाई ८ विकेटले हराउँदै कर्णाली–११ ले विजयी सुरूआत गरेको हो।
१०२ रनको लक्ष्य पाएको कर्णालीले कप्तान रवीन्द्रजंग शाहीको अविजित ४५ रनसँगै १४.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । लालिगुराँसका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए । लालिगुराँसलाई सस्तैमा समेट्ने क्रममा कर्णाली–११ का किशोर महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । यस्तै दिवान पुनले ३ र जितेन्द्र सिंह ठकुरीले २ विकेट हात पारे ।
लिगअन्तर्गत शुक्रबार २ खेल हुने छन् । बिहान न्यु होराइजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमीबीच पहिलो खेल हुनेछ भने दिउँसो विभागीय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमीबीच प्रतिस्पर्धा हुने छ ।
२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीयसहित ८ टोलीले सहभागी छन् । लिग–कम नकआउट फम्र्याटमा हुने प्रतियोगितमा सहभागी टिममध्येबाट उत्कृष्ट बनेका दुई टिम सेमिफाइनल पुग्ने छन् ।
कर्णाली प्रिमियर लिगको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उपविजेताले २ लाख रुपैयाँ पुरस्कर पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले २०÷२० हजार रुपैयाँ पाउने छन् ।
तस्विरः
कर्णाली प्रिमियर लिग–२ को उद्घाटनपछि खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल ।
दिपकजंग शाही/सेतोपाटी